ओलीका अडान मौसमी हुन्छन्, एकिकृत पार्टीको अध्यक्षता गर्नसक्ने व्यक्ति एमाले र माओवादीमा धेरै छन् :झलनाथ


नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन् पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल । उनी पार्टीभित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्ने सबल नेताहरुमध्ये एक मानिन्छन् । खनालसँग सान्तोष आचार्यले गरेको कुराकानी आजको नेपाल(साप्ताहिक) मा छापिएको छ ।

माओवादी केन्द्रसँग हुने भनिएको एकीकरण प्रक्रिया कहाँ पुग्यो ?
–पार्टी एकीकरणका लागि हामीले एकता संयोजन समिति निर्माण गर्यौँ । यो समितिको बैठक अपेक्षा अनुरुप भइरहेको छैन । एकीकरणका लागि हामीले कार्यदल पनि बनायौँ । तर, यसले पनि साकार रुप लिएको छैन । केही ढिलाइ भएको हो । तर, कुनै पनि बेला पार्टी एकीकरणको घोषणाचाहिँ हुन्छ ।

हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अकस्मात् भएको नेपाल भ्रमणका कारण पनि पार्टी एकीकरण प्रक्रिया अब टाढाको विषय हो भन्ने एकथरीको आशंका छ, के हो ?
–यसमा बिलकुलै सत्यता छैन । किनभने, हामीबीचको एकतालाई प्रभावित पार्ने सबैभन्दा महत्वपूर्ण र केन्द्रीय कडी भनेका हाम्रा पार्टीका कार्य्दिशा, नीति र सिद्धान्त हुन् । यसमा दुवै पार्टी निकै निकट आइसकेका छन् ।

तपाई ओली र प्रचण्ड दुवैलाई नजिकबाट चिन्नुभएको छ, एकीकृत पार्टीको कार्य्दिशा, नीति र सिद्धान्तलाई कसले राम्ररी हाँक्न सक्छ भन्ने लाग्छ ?

–यो प्रश्नको जवाफका लागि मथिंगल धेरै दुखाउनुपर्छ जस्तो मलाई लाग्दैन । किनभने, सामूहिक नेतृत्वको अभ्यासलाई अगाडि बढाउनुपर्छ । अहिले एकिकृत पार्टीको अध्यक्षता गर्नसक्ने व्यक्तिहरु एमाले र माओवादीमा धेरै जना छन् । उहाँहरु दुई जना मात्र होइन । महासचिव र अध्यक्ष भएर मैले पार्टीको नेतृत्व गरिसकेको छु, मै पनि फेरी आँट गर्न सक्छु, पार्टी अध्यक्षका लागि । माधव नेपाल, वामदेव गौतम पनि हुनुहुन्छ । अरु नेताहरु पनि छन् ।

तपाईंलाई सम्झना होला, विस २०७० को संविधानसभाको निर्वाचनपछि एमालेको संसदीय दलको नेता छनोटका क्रममा हालका पार्टी अध्यक्ष केपी ओलीले ’एक व्यक्ति एक पद’को अडान लिनुभएको थियो । अहिले पनि उहाँ त्यही अडानमा हुनुहुन्छ कि फेरिसक्नुभयो ?

–उहाँका अडान मौसमी नै हुन्छन् । उहाँले त्यतिबेला जे आवश्यकता देख्नुभयो, त्यही अडान राख्नुभयो । अहिले पनि त्यही अडानमा हुनुहुन्छ भन्ने मलाई लाग्दैन । धेरै नेताहरु भएको अवस्थामा ’एक व्यक्ति एक पद’ पनि एउटा सुत्र हो ।

फेरि एकपटक भारतीय विदेशमन्त्रीको सन्दर्भ, उहाँको भ्रमणले पार्टी एकीकरण मात्र होइन, समग्र राजनीति समिकरणमै फेरबदल हुने अनुमान पनि गरिँदैछ, के भन्नुहुन्छ ?

–म भारतीय विदेशमन्त्रीको भ्रमणलाई धेरै उछालपछाल गर्ने पक्षमा छैन । यसभन्दा अघि नेपाल भारत सम्बन्धमा चिसोपन आएकै हो । भारतले हाम्रो देशका विरुद्ध नाकाबन्दी गरेकै हो । यी तथ्यको पृष्ठमूमिमा जुन महानिर्वाचन भयो, त्यसबाट नयाँ परिस्थिति जन्मिएको छ । वामपन्थी शक्तिहरुले बहुमत प्राप्त गरेका छन् । यो शक्तिले कस्तो नीति लेला ? भारतसँगको सम्बन्ध कसरी अघि बढाउला ? यी प्रश्नहरु हाम्रो छिमेकीकहाँ पनि उत्पन्न भएका छन् । स्वभाविक रुपमा नयाँ परिस्थति अनुरुप समझदारी निर्माण गर्नका लागि, वातावरण बनाउनका लागि पनि छिमेकीहरुले प्रयत्न गर्नु अस्वभाविक होइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement