पुर्व प्रधानमन्त्री खनालको उपचारका लागी अर्थबाट ३० लाख निकासा


काठमाण्डु – पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयां निकासा भएको छ । हाल भारतको नयां दिल्लीमा मिर्गौलाको उपचार गरिरहेका खनालको लागी अर्थमन्त्रालयले ३० लाख रुपैयां निकासा दिएको हो । उनको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने काम भइरहेको छ ।

आर्थिक रुपमा सम्पन्न खनालको उपचारमा लाग्ने खर्च निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले व्यहोर्ने निर्णय गरेको थियो । दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । उक्त रकम निकासा भइसकेको स्रोतको दावी छ । ओली नेतृत्वको सरकारले गरेको उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो ।

२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भन्ने उल्लेख छ । तर, ओली नेतृत्वको सरकारले कानुनविपरित खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च उपलव्ध गराउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई भेटन जांदा देउवाले पूर्वप्रधानमन्त्री खनाललाई टेलिफोनमा कुराकानी गरेर उपचारमा लाग्ने सहयोग सरकारले गर्ने बताएका थिए ।

देउवा नेतृत्वको सरकारले पुर्ववर्ती सरकारका अरु निर्णय खारेज गरेपनि खनालको उपचारमा सहयोग गर्ने निर्णयलाई भने उल्टाएका छैनन । कांग्रेस नेता गगन थापाले यसको विरोध गरेका छन् । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री देउवालाई पत्र लेख्दै खनालको उपचारमा लाग्ने रकम जुटाउन सकिने भन्दै उनको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने भन्ने निर्णय गैरकानुनी भएको भन्दै सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement