प्रचण्डलाई भेटेर झलनाथले भने : म नेकपामै छु, छाडेको भनेर हल्ला चलाइदिएछन् 

प्रचण्डलाई भेटेर झलनाथले भने : म नेकपामै छु, छाडेको भनेर हल्ला चलाइदिएछन् 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ ।

मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भएको भेटवार्ता करिब डेढ घण्टा चलेको खनालको सचिवालयले जनाएको छ ।

भेटमा खनालले सोमबार घोषणा गरेको ‘समाजवादी जागरण अभियान’का उद्देश्य तथा आगामी कार्यक्रमबारे प्रचण्डलाई जानकारी गराएका थिए । खनालले वामपन्थी शक्तिहरूबिच वैचारिक बहसलाई अघि बढाउँदै छरिएर रहेका कम्युनिस्ट शक्तिलाई वैचारिक आधारमा एकताबद्ध गर्ने तथा वामपन्थी एकतालाई थप सुदृढ बनाउने अभियानको उद्देश्य रहेको स्पष्ट पारेका थिए ।

उनले आफू नेपाली कम्युनिस्ट पार्टीमै प्रतिबद्ध रहेको स्पष्ट पार्दै आफू पार्टीबाट बाहिरिन लागेको लगायतका भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने प्रयास भएकोप्रति दु:ख व्यक्त गरेको सचिवालयले जनाएको छ ।

अभियानबारे जानकारी लिएपछि संयोजक प्रचण्डले ‘समाजवादी जागरण अभियान’ सकारात्मक रहेको बताएका थिए । भेटमा समसामयिक राजनीतिक विषय, पछिल्लो राजनीतिक घटनाक्रम तथा सरकारका कामकारबाहीबारे समेत छलफल भएको खनालको सचिवालयले जनाएको छ ।