एमालेलाई नेकपा एसको चुनौती: झलनाथ खनालमाथि लगाएकाे आरोप पुष्टि गर्नु


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले नेकपा एमालेलाई नेता झलनाथ खनालमाथि लगाएको आरोप पुष्टि गर्न चेतावनी दिएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर–१ बाट पराजित भएका नेता खनालमाथि लगाएको आरोप पुष्टि गर्न नेकपा एसले एमालेले चुनौति दिएको हो ।

यसअघि नेकपा एमालेले नेता खनाललाई चुनाव हारेको विषयमा जथाभावी नबोली हारलाई स्विकार गर्न आग्रह गरेको थियो । एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले विज्ञप्तिमार्फत नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए ।

शुक्रबार नेकपा एसले पनि विज्ञप्ति जारी गर्दै उक्त आरोप पुष्टि गर्न नेकपा एमालेलाई चुनौती दिएको हो । ‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विनानै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

इलाम १ मा खनाललाई पराजित गर्दै एमाले उम्मेदवार महेश बस्नेत विजयी भएका थिए । नेता खनालले इलाम १ मा पुन मतदान हुनुपर्ने माग राख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement