प्रचण्डको हातमा झलनाथको असन्तुष्टि पत्र : ‘नेकपा मेरा लागि खोर जस्तै भयो’

प्रचण्डको हातमा झलनाथको असन्तुष्टि पत्र : ‘नेकपा मेरा लागि खोर जस्तै भयो’


काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असन्तुष्टि पत्र पठाएका छन् ।

नेकपामा आफूले खोरमा थुनिएको जस्तो अनुभूति भएको बताउँदै उनले प्रचण्डको कार्यशैलीप्रति आक्रोश पोखेका छन् ।

पार्टी एकता भएको ७ महिना बितिसक्दा पनि कुनै जिम्मेवारी नदिएर अपमानित गरिएको भन्दै उनले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत नेतृत्वको आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘म जस्तोसुकै बेलामा पनि वैचारिक र संगठनात्मक रूपले सक्रिय रहने नेता हुँ, तर अहिले यो पार्टी मेरा निम्ति खोर जस्तै अनुभूत भएको छ ।’

वैज्ञानिक समाजवादको लक्ष्य बिर्सेर पार्टी खिचडी र दक्षिणपन्थी अवसरवादतर्फ उन्मुख भएको उनको तर्क छ । ‘पार्टीको विधान वैज्ञानिक समाजवादको नभई कुनै पण्डितले लेखेको जस्तो र प्रजातान्त्रिक समाजवादको वकालत गर्ने खालको छ, यसले क्रान्तिकारी कम्युनिष्टको पहिचान मेटाउँदैछ,’ पत्रमा उल्लेख छ ।

सांगठनिक अपारदर्शिताको प्रसङ्गमा खनालले अर्का नेता माधवकुमार नेपालको दबाबमा संयोजक प्रचण्डले लाचार आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।