देशमा सबैतिर भ्रष्टाचार मात्रै छ : झलनाथ खनाल


चितवन – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा जताततै भ्रष्टाचार मात्रै व्याप्त भएको बताएका छन् ।

पार्टीको ‘समाजवादी जागरण अभियान’का क्रममा चितवनको भण्डारामा आयोजित सभालाई सम्बोधन गर्दै उनले माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको बताए ।

देशमा दलाल पुँजीपतिहरूले भ्रष्टाचारलाई प्रश्रय दिएको उनको आरोप छ । उनले भने, ‘माथि पनि भ्रष्टाचार छ, तल पनि भ्रष्टाचार छ । वर पनि भ्रष्टाचार छ, पर पनि भ्रष्टाचार छ । यो भ्रष्टाचार गर्नेहरू दलाल पुँजीपतिहरू नै हुन् । दलाल पुँजीपतिलाई रक्षा गर्ने राजनीतिक दलहरू छन् ।’

मान्छेमाथि मान्छेले नै शोषण गरेको दलाल पुँजीवादका कारण समानता ल्याउन नसक्ने भन्दै उनले समाजवादी अभियानमा जोडिन आग्रह गरेका छन् ।

उनले भने, ‘पुँजीवादले हामीलाई बोल्ने, संगठन गर्ने अधिकार दिन्छ भनेर लडेका हौं तर पुँजीवादलाई पनि दलाल पुँजीवादले कब्जा गर्‍यो । त्यसले गर्दा १८ वर्षसम्म सुधार भयो ? शोषण अन्त्य भयो त ? हिजो सामन्तहरूले शोषण गर्थे, अहिले दलाल पुँजीपतिहरूले शोषण गर्छन् । पुँजीपतिहरूले शोषण देशव्यापी बढ्दैछ । मान्छेमाथि मान्छेले शोषण गर्ने जुन प्रणाली छ, यो दलाल पुँजीवादी प्रणाली हो । समाजवादी प्रणालीले मात्र समानता ल्याउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement