झमक घिमिरेलाई घर हस्तान्तरण


काठमाण्डु – साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उनको अवस्थाबारे जानकारी पाएपछि ‘झमक घिमिरे साहित्य प्रतिष्ठान’ को निर्माण गरेको जानकारी दिइन् ।

‘घिमिरेलाई मात्र नभई हामीले समाजका दुःख पाएका हरेक व्यक्तिलाई हाम्रो सामथ्र्यले भ्यायसम्म सहयोग गरिरहेका छौँ’, उनले भनिन् ।

विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री रहँदा घिमिरेका लागि घर बनाउने निर्णय गरिएको उनले बताए । धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित छन् । जसका कारण उनी बोल्न र हिँडडुल गर्न सक्दिनन् । साथै उनी खुट्टाको सहायताले लेखेर संवाद गर्छिन् । खुट्टाको तीन वटा औँला मात्रै चल्ने उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन् ।

उनकै सम्मानमा सरकारले पाँच वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो । रु एक करोड ८० लाखको लागतमा निर्माणार्थ उक्त घर तीनतले छ । उक्त घर प्रधानमन्त्री पत्नी शाक्यको रेखदेखमा निर्माण सम्पन्न भएको हो । घर घिमिरेको ४०औँ जन्मजयन्तीका उपलक्ष्यमा हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement