काठमाण्डु – झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।
मनसुन सुरु भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माई खोलाको बाढीले झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका हुन् ।
सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा पनि क्षति पुगेको छ ।
बाढीले निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ ।
बस्तीबाट खोलाको पानी बगिरहेको छ भने स्थानीय मानिस बाटोमा बस्न बाध्य भएका छन् ।

कोशी राजमार्ग बग्यो
यता लेउतीको बाढीले कोशी राजमार्ग बगाएको छ । भारी वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ फेदी नजिकैको सडक बगाएको हो । फेदीस्थित लेउती खोलाको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुबैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ ।
दुबै स्थानमा सडक भत्किएपछि कोशी राजमार्गमा सवारी साधन रोकिएका छन् ।
त्यस्तै तमोर करिडोर पनि अवरुद्ध भएको छ । धनकुटा चौबिसे गापा– ४ निर्माणधिन तमोर करिडोर सडक खण्डको छरुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया