दमक कांग्रेस सभापतिद्वारा राजीनामा, बालेनलाई सहयोग गर्ने घोषणा

दमक कांग्रेस सभापतिद्वारा राजीनामा, बालेनलाई सहयोग गर्ने घोषणा


दमक- नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टी परित्याग गरेका छन् । उनले झापा–५ बाट उम्मेदवार रहेका रास्वपाका बालेन शाहलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रसाईंले नेपाली कांग्रेसको साधारण सदस्यतासमेत त्याग्दै प्रधानमन्त्रीका उम्मेदवार शाहलाई समर्थन गर्ने बताएका हुन् ।

प्रसाईंकी पत्नी रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

अबको आफ्नो राजनीतिक यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउने उद्देश्यका साथ अघि बढ्ने प्रसाईंले बताएका छन् । उनले आगामी निर्वाचनमा विजयका लागि बालेन शाहलाई शुभकामना समेत दिएका छन् ।

यस्तो छ प्रसाईंको सामाजिक सञ्जाल स्टाटसः

म प्रकाश प्रसाईं।
आज मिति २०८२ माघ ६ गतेदेखि
नेपाली कांग्रेस दमक नगर सभापतिको पद
र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु।
अब मेरो यात्रा पद, कुर्सी वा झण्डाको होइन,परिवर्तनको हो।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार,
काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई
विजयको अग्रिम शुभकामना दिँदै
मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।
मेरो सामाजिक–राजनीतिक यात्रामा साथ दिनुहुने
पार्टीका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक,
र आम नागरिकप्रति हार्दिक आभार।
परिवर्तन सम्भव छ ,हाम्रै पालामा।
Vote For Change
Vote For Balen ✊🔥