दुर्घटना कम गर्न झापामा टाइम कार्ड


काठमाडौं – सवारी दुर्घटना कम गर्ने उद्देश्यले आईतबारबाट झापामा गुड्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ को व्यवस्था गरिएको छ । पूर्वी सिमाना काँकरभिट्टादेखि पश्चिमको तारावारी ढाटसम्म पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारीका लागि टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए ।

“यातायात व्यवसायीसँगको सहकार्यमा आजबाट पूर्वपश्चिम राजमार्गमा चल्ने ठूला सवारीलाई टाइम कार्ड लागू गरिएको हो”, प्रहरी निरीक्षक अधिकारीले भने, “काँकरभिट्टादेखि विर्तामोडसम्म आधा घण्टा र विर्तामोडदेखि दमक पुग्ने सवारीका लागि एक घण्टाको सयम निर्धारण गरिएको छ ।”

सवारी चालकलाई तीव्र गतिमा सवारी नचलाउन पटकपटक आग्रह गरे पनि अटेर गरेपछि टाइम कार्ड लागू गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनले भने , “अब ५५ किलोमिटर दूरी पार गर्न एक घण्टा ३० मिनेटको समय दिइएको छ ।”

चालू आवमा झापामा भएका सवारी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् । अधिकांश सवारी तीव्र गतिमा चलाएका कारण दुर्घटना हुने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
–––

प्रतिक्रिया दिनुहोस
Advertisement