काठमाण्डु – नेकपा एमालेका सांसद झपटबहादुर रावलको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । प्रतिनिधि सभा सदस्य रावलको घरमा बुधबार राती अज्ञात समूहले ढुंगा प्रहार गरेको हो ।
बिहीबार बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद रावलले राति १२ बजेको समयमा घरमा ढुंगा प्रहार भएको जानकारी दिए ।
‘राति १२ बजे ढोकामा कसैले ढुंगा हान्यो,’ उनले भने, ‘हनुमान ढोका प्रहरी खबर गरेको ४५ मिनेटपछि मात्रै आइपुग्यो ।’
सांसद रावलले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका थिए ।
उनले यस्ता घटनामा तत्काल प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने समेत बताए । घटनाको छानबिन गर्न उनले माग गरे । सांसद रावलले आफ्नो कसैसँग रिसिइबी नरहेको बताए ।
‘मेरो कसैसँग रिसिइबी छैन,’ उनले भने, ‘घरधनी कानुन व्यवसायी हुनुहुन्छ । उहाँको के छ थाहा छैन । यो कसले किन गर्यो ? तुरन्त छानबिन गरियोस् ।’
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताएपछि सांसद रावल झलनाथ खनाल–माधव नेपाल समूहमा लागेका थिए ।




प्रतिक्रिया