काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा हर्ताकर्ता बनेका सहसचिवहरू अहिले अफ्ट्यारोमा परेका छन् । सरकारी कर्मचारी भएको बिर्सेर दाहाल नेतृत्वको सरकार भएका बेला भएजतिका अवसर आफैले लिएका १० बढी सहसचिवहरूलाई अहिले कुनै पनि मन्त्रीले रुचाएनन् । सधै शक्तिमा रमाउन सकिन्छ भन्ने उनीहरू अहिले सबैले छोडेका स्थानमा सरुवा हुन बाध्य भएका छन् ।
पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच दर्जन जति सहसचिव सरुवा गर्दा दाहाल नेतृत्वको सरकार भएको बेलामा आकर्षक स्थानमा रजाइ गरेका सहसचिवहरू कुनै पनि मन्त्रीको रोजाइमा परेनन् । कसैले पनि नपुछ्दा उनीहरू सबैले छोडेको स्थानमा जान बाध्य भएका छन् ।
माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा र माओवादी केन्द्र सरकारमा हुँदा सधै अवसर पाइरहने सहसचिव चक्रबहादुर बुढाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ । माओवादी सरकारमा भएको बेलामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागको महानिर्देशक, राजस्व अनुसन्धान विभागको महानिर्देशक, गृह मन्त्रालयको प्रवक्तासहितका आकर्षक स्थानमा बुढाले काम गरेका थिए ।
सहसचिव बुढाजस्तै माओवादी नेतृत्वको सरकारमा निकै अवसर पाउने र शक्तिको प्रयोग गर्ने सहसचिव नवराज ढुंगानाको सुदूरपश्चिमको प्रदेश सचिवमा सरुवा भएको छ । ढुंगानाले दाहाल प्रधानमन्त्री हुँदा निजी सचिवालयमा बसेर प्रधानमन्त्री कार्यालयमा, महानिर्देशक भएर राजस्व अनुसन्धान विभागमा हालीमुहाली गरेका थिए । उनलाई दाहालले महावाणिज्य दूत बनाउन परराष्ट्र मन्त्रालयमा सरुवा गरे पनि त्यो प्रयास सफल हुन सकेन ।
दाहाल प्रधानमन्त्री हुँदा छानी छानी अवसर लिएका सहसचिव ढुण्डीप्रसाद निरौलाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको नाथमको कार्यकारी निर्देशक भएर निरौलाले काम गरेका थिए ।
प्रधानन्त्री हुँदा दाहालका विश्वासपात्र भएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएका कमलप्रसाद भट्टराईको राष्ट्रिय सूचना आयोग, दाहालको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रजगज चलाएका अर्जुन भण्डारीको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।
माओवादी सरकारका पालामा विश्वासपात्र बनेर अवसर र्पाएका नारायणप्रसाद भट्टको राष्ट्रिय सतर्कता केन्द्रमा र सहसचिव ईश्वरराज पौडेलको लुम्बिनी प्रदेशको प्रदेशसचिवमा सरुवा भएको छ ।
वर्षमान पुन अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयमा रजगज चलाएका सहसचिव नरेन्द्र कुमार राना लोकसेवा आयोग पुगेका छन् । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हुँदा पर्यटन मन्त्रालयमा तानेर हर्ताकर्ता बनाएका हेमराज तामाङले त्यो आफ्नो हैकम हितराज तामाङ हुँदा पनि देखाएका थिए । अहिले उनी सरुवा भएर कोशी प्रदेश सचिव भएका छन् ।
नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा सहसचिवमा बढुवा हुने वित्तिकै ललितपुरको प्रमुख जिल्ला अधिकारी बनेका र त्यसपछि पर्यटन विभागको महानिर्देशक बनेका रुद्रप्रसाद पण्डित राष्ट्रिय योजना आयोग पुगेका छन् ।
उनीहरूलाई सरकारले नचाहेर नराम्रो स्थानमा नपुर्याएको नभइ आफू शक्तिमा छँदा गरेको कामका कारण मन्त्रीहरूले नरुचाएका कारण नराम्रो स्थानमा सरुवा हुन पुगेका प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दियो ।
प्रतिक्रिया