के लेख्ने,के न लेख्ने पत्रकारले बुझ्छन् : सभापति देउवा


विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्वतन्त्र प्रेस तथा मानवधिकार कुण्ठित हुनेगरि संसदमा ल्याएको विधेयक कांग्रेसले पास हुन नदिने बताएका छन् । शनिबार विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो। सरकारले जर्बजस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं।’’‘‘पत्रकार आफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै सरकारले विधेयक ल्याएको छ। के लेख्ने, के न लेख्ने पत्रकारले बुझ्छन् । त्यसमा सरकारले भन्नै पर्दैन । पत्रकारले जे पनि लेख्न पाउँछन ।’’सभापति देउवाले भने।

विपक्षी दलको मागलाई सम्बोधन नगरि सरकारले बजेट ल्याउने प्रयास गरे त्यसको कडा प्रतिवाद गर्ने बताएका सभापति देउवाले भने,‘‘सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्नेछौ। तर विगतमा भएका घटना झै हामी रेलिङ भत्काउने काममा लाग्दैनौँ।’’

स्वतन्त्र न्यायापालिका अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै सभापति देउवाले सरकारले डेढ वर्षमा केही काम गर्न नसकेको आरोप लगाए। विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,‘‘प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिँड्नु हुन्छ । यस्तो व्यवहार आफैं सुधार गर्ने हो । सुधार गराई दिने म डाक्टर होइन ।’’

प्रतिक्रिया दिनुहोस
Advertisement