प्रधानन्यायाधीशले आफन्तलाई बढुवा गर्न दबाव दिएपछि बिदामा बस्दै आईजीपी


काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रहरी अधिकृतलाई बढुवा गर्न दिएको दबाब थेग्न नसकेपछि नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल बिदामा बस्ने तयारीमा छन् ।

प्रधानन्यायाधीश पराजुलीले आफ्ना नातेदार तथा अवकाशको मुखमा रहेका एसएसपी कृष्णप्रसाद गौतमलाई डीआईजीमा बढुवा गर्न दिएको चर्को दबाबका कारण आईजीपी अर्याल बुधबारदेखि चार दिन बिदा बस्न लागेको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ । बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएको कारण निरीक्षणपश्चात् बुधबार अपराह्नदेखि बिदामा बस्दै छन् ।

अर्यालनिकट स्रोतका अनुसार ४ दिन बिदा र यो बीचमा हुने ४ दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा ८ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको बताइएको छ । एसएसपीको ५५ वर्षे उमेर हदका कारण यही फागुन २३ मा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्न प्रधानन्यायाधीश पराजुलीले चर्को दबाब दिएका कारण आईजीपी अर्याल केही दिनदेखि तनावमा छन् । सोही कारण उनी गृहजिल्ला दाङमा आयोजित आफन्तको विवाहको कार्यक्रममा सरिक हुन् भन्दै बिदा बस्न लागेको स्रोत बताउंछ । आईजीपी अर्यालसंगै २०४४ चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम प्रधानन्यायाधीश पराजुलीका आफन्त हुन् । २०१९ फागुन २४ मा जन्मेका उनी यही फागुन २३ मा ५५ वर्ष पुग्दै छन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष र पदावधी ६ वर्ष कायम गरिएको छ ।

गौतम आगामी २३ गतेभित्र डीआईजीमा बढुवा नभए एसएसपीबाटै स्वत:अवकाश पाउनेछन् भने डीआईजी भएको खण्डमा आगामी चैत २८ मा ३० वर्षे सेवाहदका कारण आईजीपी अर्यालसंगै स्वत:अवकाश पाउनेछन् । बुधवार कार्यालय समयभित्र बढुवासूची प्रकाशित नभए एसएसपी गौतमको डीआईजी बन्ने सपना टुंगिनेछ । नवलपरासीको एसपी हुंदा आर्थिक प्रलोभनमा ज्यान मुद्दाका अभियुक्तलाई छोडेको आरोप लागेपछि कार्वाहिमा परेका उनी विवादास्पद अधिकृत हुन् । ‘बढुवा भए पनि एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्नुपयो ? कोही कसैलाई पूर्वडीआईजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ?’ आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डीआईजीले भने, ‘अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवा लगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउंदैन ।’

त्यसो त आईजीपी अर्यालले एसएसपी गौतमलाई बढुवा गरेर पुरानो गुन तिर्न नखोजेका पनि होइनन् । बढुवा प्रयोजनको लागि गत हप्तामात्रै आईजीपी अर्यालले आफ्नै सचिवालयमा पदपूर्ति समितिको बैठक बोलाएर इन्स्पेक्टरदेखि डीआईजीसम्म खाली पदमा पदपूर्ति गर्ने निर्णय गराइसकेका छन् । आईजीपी अर्यालले अवकाशको मुखमा बढुवा तयारी गरेको खबर पाएपछि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव मोहनकृष्ण सापकोटालाई बढुवा समितिको बैठक नराख्न र उक्त विषयमा गृह मन्त्रालयले कुनै भूमिका नखेल्न चेतावनी दिएपछि आईजीपी अर्याल हच्केका थिए । डीआईजी बढुवामा गृहसचिव बढुवा समितिको अध्यक्ष हुने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement