के चाहन्छन् ‘विखण्डनकारी’ सीके राउत ? पीडादायी र रोचक छ भित्रिकथा !


काठमाडौं – सरकारसँग ११ बुँदे सम्झौता गरेर सीके राउतले राष्ट्रिय अखण्डतामा प्रतिवद्ध रहेको बताइसक्दा समेत कार्यकर्ताका केही गतिविधिले उनीमाथि अझैं शंका गर्ने गरिएको छ । सीके राउत जनकपुर विमानस्थलमा ओर्लिंदा उनका कार्यकर्ताले देखाएका फ्री मधेश लेखिएका झण्डा र नाराबाजीले शंका बढ्नु स्वभाविक हो ।

तर सीके राउत साँच्चिकै के चाहन्छन् त ? भित्र रहश्य सार्वजनिक हुन सकेको छैन । हालसालै थुनामुक्त भएपछि सम्झौता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसामु मन्तव्य राख्दै सीके राउतले भनेका थिए, ‘योभन्दा अगाडि ४ वर्ष अगाडि डिल्लीबजार कारागार म स्वेच्छाले गएको हुँ । स्वेच्छाले जेल जानु र अहिले जेल जानुमा धेरै नै अन्तर रहेको छ ।

त्यसै पनि भनिन्छ -जेल एउटा महाविद्यालय हो, ठूलो पाठशाला हो । बाहिर हामीले पढ्न नपाएका कुराहरू बाहिर अनुभूति गर्न नपाएको कुराहरु त्यो जेलमा अध्ययन गर्न सक्छौं, जेलमा गएर अनुभूति गर्न सक्छौं ।’ जेल बसाइका क्रममा सीके राउतले आँखिरमा के सिके, जसले उनलाई राष्ट्रिय अखण्डतामा प्रतिवद्ध हुन बाध्य बनायो ?

सुरक्षित अवतरणको खोजी
सीके राउतको ‘स्वतन्त्र मधेश’ आन्दोलनमा आवद्ध उनका समर्थक राममनोहर यादवको भदौं १५ गते जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा रहेका बेला मृत्यु भयो । बर्दियामा भदौं ७ गते उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सहभागी कार्यक्रममा विरोध जनाएपछि यादव पक्राउ परेका थिए ।

यसबीच सरकारले सीके राउतका कार्यकर्तालाई पक्राउ गर्ने र थुन्ने अभियानलाई तीब्रता दियो । सीके राउतका समर्थक र परिवारमा आतंक र असन्तुष्टि बढ्दै गयो । असोज २९ गते सीके राउत आफैं पक्राउ परे । मंसिर २० गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि सीके राउतले लामो समय प्रहरी हिरासतमा बस्नुप¥यो ।

‘जेल एउटा महाविद्यालय हो, ठूलो पाठशाला हो’ भनेझैं सीके राउत कारागारमा रहँदा उनमा धेरै निराशा रहेको सुरक्षा अधिकारी बताउँछन् । कारागारमा रहँदा उनले आफू ‘स्वतन्त्र मधेश’को मुद्दा छाड्ने र मूलधारको राजनीतिमा आउने आशय व्यक्त गर्र्ने गरेका छन् । उनका समर्थक र परिवारका सदस्यले समेत आतंकित हुने राजनीति छाड्न दबाब दिएका थिए ।

बौद्धिक र विषयवस्तुको सही विश्लेषण गर्ने क्षमता भएका डा. सीके राउत जेलमै रहँदा पृथकतावादी आन्दोलनबाट बाहिरिने सोचमा पुगिसकेका थिए । यसैबीच फागुन २३ गते सर्वाेच्च अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दियो । जसबाट सीके राउतलाई जेलभित्र आफूमा आएको सकारात्मक सोच प्रचारप्रसार गर्न र जनमानसमा पु¥याउन सहयोग पुग्यो ।

जेलबाट छुटेपछि सीके राउत सिधै सरकारको सम्पर्कमा आए । सरकारले पहिल्यैदेखि सीके राउतसँग वार्ता र छलफल गर्न खोजिरहेको थियो । सीके राउत नै वार्ता र सम्झौता गर्न सकारात्मक भएपछि सरकारलाई पनि सहज भयो । ‘सीके राउतले जेलमै रहँदा ‘स्वतन्त्र मधेश’ मुद्दा पार लाग्दैन भनेर बुझिसकेका थिए,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘सीके राउतले सुरक्षित अवतरण खोजिरहेका थिए । सरकारले समेत राष्ट्रिय अखण्डता कायम हुने देखेपछि सम्झौता गरेको हो ।’

मूलधारको राजनीतिमा प्रवेश
सीके राउतले सरकारसँग अकस्मात सम्झौता गरेपछि उनका कार्यकर्ता र मूलधारका राजनीतिक दलमा तरङ्ग पैदा भएको छ । सीके राउत मूलधारमा आउनु स्वागतयोग्य भएपनि सम्झौतापछि उनका कार्यकर्ताले जनकपुर विमानस्थलमा गरेको नाराबाजी र झण्डा प्रदर्शनले केही प्रश्न जन्माएको छ । तर सीके राउतको निर्देशन कार्यकर्तासम्म पुगि नसकेकाले ‘स्वतन्त्र मधेश’को नाराबाजी भएको सरकारी बुझाइ छ ।

के अब साँच्चै सीके राउत मूलधारको राजनीतिमा आउँछन् त ? सीके राउत निकट स्रोतका अनुसार उनले आईतबारदेखि २ नम्बर प्रदेशको लहानमा राष्ट्रिय परिषद् बैठक गरिरहेका छन् । बैठकबाट उनले निर्वाचन आयोगमा दल दर्तादेखि शान्तिपूर्ण राजनीतिमा प्रवेशको घोषणा गर्ने दाबी गरिएको छ । सीके राउतले बैठकबाट आफ्नो सोचलाई अनुमोदन गराउन चाहेका छन् ।

‘बैठकबाट शान्तिपूर्ण राजनीतिको एजेण्डा पारित भएपछि सीके राउतले मधेशका जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना छ, मधेशी राजनीतिक दलबाट असन्तुष्ट ठूलो बौद्धिक र आम तप्का सीके राउतसँग जोडिएको छ,’ उनी निकट स्रोतले भन्यो, ‘अब सीके राउत मूलधारको राजनीतिमै सक्रिय हुनेछन् ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत आफूलाई स्थापित हुन सहयोग गर्नेमा सीके राउत विश्वस्त छन् । नेकपाले सीके राउतलाई पार्टी प्रवेश गराउने तहसम्म सोच्न सक्ने संकेत दिएको छ । तर सीके राउतले अहिल्यै यो विषयमा नेकपालाई ग्यारेन्टी गरिसकेका छैनन् । उपेन्द्र यादव नेतृत्वको मधेश केन्द्रीत दल संघीय समाजवादी फोरम नेपालले सरकारमा नेकपासँग सहकार्य गरिरहेको छ । नेकपाले आगामी निर्वाचनसम्म फोरम र सीके राउतलाई नेकपामा भित्र्याउनेसम्मको रणनीति बनाएको छ । मधेशमा कमजोर रहेको नेकपाका लागि सीके राउत उपयुक्त माध्यम बन्न सक्ने नेकपा निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement