काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री एवं गोरखा–२ बाट निर्वाचित सांसद् कबिन्द्र बुर्लाकोटी सार्वजनिक कार्यक्रममा मञ्चमा बसिरहेका बेला एक व्यक्तिले छाता ओढाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बुर्लाकोटी गोरखा महाभूकम्प (१२ वैशाख, २०७२) को इपिसेन्टर बारपाकमा १२ वैशाखमा आयोजित ११औं भूकम्प स्मृति दिवस कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम समापन हुनै लाग्दा सिमसिम पानी पर्न थालेपछि स्थानीय एक वृद्धले सोफामा बसेका बुर्लाकोटीलाई पछाडिबाट छाता ओढाएको भिडियो सार्वजनिक भएको छ ।
को हुन् बुर्लाकोटीलाई छाता ओढाउने वृद्ध ?
बुर्लाकोटीलाई छाता ओढाउने वृद्ध स्थानीय सुकबहादुर विक हुन् । विकका छोरा ओमबहादुरलाई प्रहरीले ०५४ सालमा घरबाटै नियन्त्रणमा लिएर लगेको थियो । सुकबहादुर र गाउँका अर्का एक युवकलाई नियन्त्रणमा लिएर लगिएकामा दुवैको शव छातीमा गोली लागेको अवस्थामा बगुवाको सिम्ले पँधेरा भन्ने स्थानमा भेटिएको थियो । माओवादीले विकलाई शहीद भन्दै आएको छ । बुर्लाकोटीलाई छाता ओढाउने सुकबहादुर शहीदका पिता हुन् ।
गाउँपालिका अध्यक्ष के भन्छन् ?
कार्यक्रम आयोजक बारपाक–सुलिकोट गाउँपालिका अध्यक्ष सुरेन्द्र भट्ट सामान्य विषयालाई अतिरञ्जित गरिएको बताउँछन् । आफ्नो गाउँमा आएका अतिथि पानीमा भिजेको देखेर सम्मानपूर्वक छाता ओढाएको विषयलाई भाइरल बनाउन जरुरी नभएको तर्क उनको छ । ‘माननीयज्यूले बोलिसकेपछि सभापतिको हैसियतले म कार्यक्रमको समापन मन्तव्य दिँदै थिएँ । सिमसिम पानी पर्न थाल्यो, आफ्नो घरमा आएको पाहुना रुझेको देखेपछि सम्मानपूर्वक एक जनाले आफूले ओढिरहेको छाता सेयर गर्नुभएको हो’, भट्टले कमाठमाडौं पाटीसँग भने, ‘सामान्य घटना हो । यसलाई मानवीय घटनाका रुपमा हेरिनुपर्छ भन्ने मेरो भनाइ हो । यसलाई ठूलो बनाउन जरुरी छैन । माननीयले मलाई छाता ओढाउन भन्नुभएको पनि होइन । यसलाई उहाँको ‘इन्टेन्सन’ सँग जोड्न मिल्दैन ।’
बुर्लाकोटीले घटनाबारे यसअघि नै प्रष्टीकरण दिइसकेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको करिब एक मिनेटको भिडियो आफूलाई जानकारी नदिई खिचिएको र सन्दर्भबाहिर प्रस्तुत गरिएको उनले बताएका छन् ।
‘सबै कुरा कार्यक्रमको पूर्ण भिडियोमा प्रष्ट देखिन्छ । उक्त दृश्य असावधानीवश भएको हो । यसबाट मेरा शुभचिन्तक र आम जनसमुदायमा पर्न गएको भ्रमप्रति म क्षमाप्रार्थी छु’, बुर्लाकोटीले भनेका छन् । रास्वपाका आलोचकले भने सामन्ती प्रवृत्ति देखाएको भन्दै बुर्लाकोटीको आलोचना गरिरहेका छन् ।




प्रतिक्रिया