रास्वपा संविधान, लोकतन्त्र र संघीयताप्रति प्रतिबद्ध छः बुर्लाकोटी

रास्वपा संविधान, लोकतन्त्र र संघीयताप्रति प्रतिबद्ध छः बुर्लाकोटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले आफ्नो दल संघीयताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले संघीयताप्रतिको प्रतिबद्धतामा आशंका नगर्न आग्रह गरे ।

रास्वपाका पूर्वमहामन्त्रीसमेत रहेका बुर्लाकोटीले वर्तमान संविधान, लोकतन्त्र र संघीयतालाई पूर्ण पालना गरेर जाने नीति आफूहरुको रहेको स्पष्ट गरे ।

‘संविधान, लोकतन्त्र र संघीयताप्रति हामी पूर्ण प्रतिबद्ध छौं’, उनले भने, ‘लोकतन्त्रान्त्रिक व्यवस्था र संविधानमा कुनै सम्झौता हुँदैन ।’

बुर्लाकोटीले आवश्यक कानूनको अभावमा संघीयता कार्यान्वयन प्रभावकारी नभएको स्वीकार गरे ।

एउटा रुख ढल्यो भने पनि काट्नका लागि संघको मुख ताक्नुपर्ने अवस्थाका कारण स्थानीय र प्रदेश सरकारहरुको प्रभावकारीतामा प्रश्न उठेको उनको भनाइ थियो ।

उनले समयानुकूल संविधानका संशोधन गर्न सकिने भए पनि संविधानमा लिपिबद्ध भएका जनताका अधिकारबाट पछि फर्कन नभई कार्यान्यवनका क्रममा देखिएका समस्या समाधान गर्ने गरी मात्र संविधान संशोधन गरिने उल्लेख गरे ।

बुर्लाकोटीले लोकतन्त्रका लागि लामो संघर्ष गरेका र संविधान निर्माण तथा संघीय लोकतान्त्रिक व्यवस्था ल्याउन योगदान गरेका परम्परागत दलहरुको योगदानको सधैं कदर गरिनुपर्ने र आफूहरु त्यसो गर्ने पक्षमा रहेको बताए ।

बुर्लाकोटीले लोकतान्त्रिक व्यवस्थाका लागि आफू ०६२/०६३ सालको आन्दोलनमा सहभागी भएको स्मरण समेत गरे । मुलुकलाई अघि बढाउन मधेस र थरुहट आन्दोलनले गरेका योगदानको समेत सम्मान गरिने प्रतिबद्धता जनाए ।

‘०६२/६३ को आन्दोलनमा मेरो खुट्टा मर्किएको थियो । जुत्ता हरायो भागदौड गर्दाखेरि’, उनले भने, ‘ पछिल्लो समयको जनेजी आन्दोलन, मधेस आन्दोलन, थारूहट आन्दोलनहरूबाट हामीले प्राप्त गरेको उपलब्धीहरु छन् ।’

संविधान संशोधनको एजेण्डा कुने राजनीतिक दल वा सरकार विशेषको नभई आम सहमतिमा मात्र सम्भव हुने उनको स्पष्टोक्ति थियो ।

‘संविधान भनेको समग्र राष्ट्रको कुरा हो’, उनले भने, ‘ त्यसभित्र सबै शक्तिहरूको कुरा, त्यसमा अवश्य पनि फेरि माइनोरिटिज (अल्पसंख्यक) को कुराहरू पनि आउनुपर्‍यो । र, बहुमतले स्वीकार गर्नु पनि पर्‍यो ।’