एजेन्सी – अफगानिस्तानको बिद्रोही समूह तालिबानीले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ ।
काबुल प्रवेश गरेको तालिबानले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न सरकारलाई आग्रह गरेको हो । तालिबान लडाकूहरु अफगानिस्तानको राजधानीको बाहिरी भागमा प्रवेश गरेका छन् । उनीहरुले शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि सरकारको निर्णय कुरिरहेका छन् ।
तालिबानका प्रवक्ता सुहेल शाहीनले विद्रोही काबुल शहरको शान्तिपूर्ण हस्तान्तरणको प्रतिक्षामा रहेको बताएका छन् । उनले आफ्ना सेना र सरकारबीच कुनैपनि सम्भावित वार्ताको बारेमा जानकारी दिन अस्वीकार गरेका छन् ।
‘कसैको ज्यान, सम्पत्ति र मर्यादालाई हानी हुने छैन र काबुलका नागरिकहरुको ज्यान जोखिममा पर्दैन,’ विद्रोहीहरुले एक वक्तव्यमा भने ।
तालिबानको आग्रहसँगै सरकारले सत्ता हस्तान्तरणका लागि सकारात्मक प्रतिक्रिया दिएको छ । अफगानिस्तानका कार्यवाहक गृहमन्त्रीले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबान वार्ताकारहरु सत्ता हस्तान्तरणको तयारी गर्न राष्ट्रपति भवनमा जाँदैछन् ।
तालिबानले यसअघि लडाकूहरुलाई शहरको गेटमा रोकिन निर्देशन दिएको थियो । अहिले मानिसहरु काबुल शहरबाट बाहिरिन थालेका छन् ।
प्रतिक्रिया