काठमाण्डु- नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अप्रेसन’ अन्तर्गत ८ दिनको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार गत वैशाख ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको अप्रेसनमा सबैभन्दा धेरै कोशी प्रदेशबाट ५९३ जना पक्राउ परेका छन्। यस्तै, काठमाडौं उपत्यकाबाट ४१ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका छन्।
सोही अवधिमा प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषधसमेत बरामद गरेको जनाएको छ। बरामद गरिएको लागूऔषधमा गाँजा १७६ किलोभन्दा बढी, चरेस १६ किलोभन्दा बढी, हेरोइन १ किलोभन्दा बढी, पोलेन १ किलोभन्दा बढी रहेका छन्। साथै डाईजेपाम, फेनारगन, बुप्रेनोर्फिनलगायतका हजारौं एम्पुल तथा ट्रामाडोलसहितका हजारौं ट्याब्लेट पनि बरामद गरिएको छ।
नेपाल प्रहरीले लागूऔषध कारोबार तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राख्दै देशव्यापी रूपमा यस्ता अप्रेसनहरू सञ्चालन गरिरहेको जनाएको छ।




प्रतिक्रिया