नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन


काठमाण्डु-  कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ १५ करोड छ लाख र अन्यतर्फ एक अर्ब छ करोड ५१ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।

कार्यालयले चालु आवका नौ महिनामा आठ अर्ब ५६ करोड ६४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

“पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ”, उनले भने, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व सङ्कलन प्रभावित भएको छ ।”

उनका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा ६१ करोड ४६ लाख र मङ्सिरमा ७३ करोड ३४ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै पुसमा ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा ७२ करोड १३ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवका नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

गत आवमा २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख राजस्व भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement