कैलालीका बाढी प्रभावितहरूको जनजीवन कष्टकर

कैलालीका बाढी प्रभावितहरूको जनजीवन कष्टकर


धनगढी-निरन्तरको वर्षाका कारण डुबानमा परेको कैलालीको बाढी प्रभावित क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बुधबार आएको बाढी घट्न नपाउँदै गए राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ ।

बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिका डुबानमा परेको छ । गए राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि बाढी प्रभावितहरूको जनजीवन थप कष्टकर बनेको हो ।

हिजो आएको बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा उनीहरू रातभरि जाग्राम बसेको थिए । यसैगरी, भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको छ ।

कैलालीको धेरै भूभागमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भारी वर्षापछि कलरिया, कान्द्रा, घुरहा नदीसहित मोहना नदीको सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको छ ।