गृहजिल्ला कैलालीमा एमाले नेता लेखराज भट्टलाई हुन सक्छ यस्तो सकस


काठमाण्डु – सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा एक उपमहानगरपालिकासहित १३ पालिका छन् । आसन्न स्थानीय तह निर्वाचनमा मुख्यतः एमाले, कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ को संघीय निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा राणा क्षेत्र नम्बर ५ बाट चुनाव लडेकी थिइन् । यद्यपि, उनी पराजित भइन् ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सोही क्षेत्रबाट चुनाव जितेका थिए । हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी पनि सोही जिल्लाबाट प्रतिनिधित्व गर्छन् । कैलाली पूर्वमाओवादी नेता लेखराज भट्टको गृहजिल्ला पनि हो । अहिले उनी एमालेमा छन् । त्यसकारण कैलालीको स्थानीय निर्वाचनलाई चासोपूर्वक हेरिएको छ । ०७४ निर्वाचन परिणामअनुसार जिल्लामा एमाले पहिलो शक्ति हो ।

१३ मध्ये एमालेले सात पालिका जितेको थियो । दोस्रो पार्टी बनेको कांग्रेसले धनगढी उपमहानगरपालिकासहित तीन र तेस्रो बनेको माओवादी केन्द्रले दुई पालिका जितेका थिए । तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले जानकी गाँउपालिका जितेको थियो । उक्त दल कांग्रेसमा समाहित भइसकेको छ । गोदावरी नगरपालिका, गौरीगंगा, लम्कीचुहा र घोडाघोडी नगरपालिकामा एमाले थोरै मतान्तरमा विजयी भएको थियो । गौरीगंगा नगरपालिकामा एमालेले माओवादीसँग जम्मा ६१ मत अन्तरले जितेको थियो ।

एमालेले नै जितेको टीकापुर नगरपालिकामा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक दोस्रो प्रतिस्पर्धी दल थियो भने चार मतान्तरले कांग्रेस तेस्रो दल बनेको थियो । माओवादी चौथो दल बनेको थियो । यसबाहेक एमालेले मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाको प्रमुख पनि जितेको थियो ।

कांग्रेसले घनगढी उपमहानगरबाहेक जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिका जितेको थियो । धनगढीमा स्वतन्त्र दोस्रो, माओवादी तेस्रो र एमाले चौथो दल हो । तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको हुँदा कैलालीमा कांग्रेस बलियो देखिन्छ ।

माओवादी केन्द्रले कैलारी गाउँपालिका र भजनी नगरपालिका जितेको थियो । माओवादी पनि केही पालिकामा दोस्रो प्रतिस्पर्धी दल हो । त्यसकारण कांग्रेस र माओवादीबीच मात्रै तालमेल भएको खण्डमा पनि एमालेले पुरानो बिरासत जोगाउन मुस्किल देखिन्छ । त्यसमाथि पार्टी विभाजन भएका कारण केही भोट एकीकृत समाजवादीले काट्ने सम्भावना छ ।

पाँचदलीय सत्तागठबन्धन दलको केन्द्रीय निर्णयअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीको उम्मेदवार उठाउने सहमति भएको छ । तर, जिल्लाभरि पाँचदलीय गठबन्धन हुने–नहुने अनिश्चित छ ।

रेशम चौधरीकी पत्नीको नेतृत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाको प्रमुखमा आफ्ना उम्मेदवार उठाउने भएको छ । त्यसकारण पनि कैलालीमा प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । जिल्लामा आगामी निर्वाचनका लागि २ लाख ५६ हजार १ सय ४ पुरुष, २ लाख ६९ हजार १० महिला र अन्य ११ गरी ५ लाख २५ हजार १ सय २५ मतदाता छन् ।

०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, राप्रपा र नयाँ शक्ति पार्टी पनि चुनाव लडेका थिए भने अहिले ६ राष्ट्रिय दलबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका २३ दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement