एजेन्सी– भारतको ककरोच जनता पार्टी (सीजेपी) ले मुम्बईको शिवाजी पार्कमा अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ घोषणा गरेको छ ।
सीजेपी संस्थापक अभिजित दिप्केले सोमबार सामाजिक सञ्जालमार्फत गान्धी जयन्तीका दिन आन्दोलन गर्ने घोषणा गरेका हुन् । मुम्बई प्रहरीले शिवाजी पार्कमा प्रदर्शनका लागि अनुमति नदिएपछि उनले यस्तो घोषणा गरेका हुन् ।
सीजेपीले यसअघि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै अक्टोबर २ बाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । कुमारले राजीनामा नदिए आन्दोलन अघि बढाउने चेतावनी उसले दिएको थियो ।
कुमारको राजीनामा माग्नुको मुख्य कारण निर्वाचन आयोगले अघि बढाएको मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रिया हो ।
सीजेपीले एसआईआरका क्रममा ठूलो संख्यामा मतदाताको नाम हटाइएको भन्दै आयोगको कामकारबाहीमाथि प्रश्न उठाएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार एसआईआरका क्रममा ३० राज्य तथा केन्द्रशासित प्रदेशका प्रारम्भिक मतदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाइएको थियो ।
सीजेपीले यति ठूलो संख्यामा मतदाताको नाम हटाइनु र नाम हटाउने प्रक्रियामा पर्याप्त पारदर्शिता नहुनुलाई मुख्य निर्वाचन आयुक्तको नेतृत्वमाथि प्रश्न उठाउने आधार बनाएको छ ।
सीजेपीले एसआईआर रोक्नुपर्ने, जनवरी २०२५ को मतदाता नामावली पुनः कायम गर्नुपर्ने र नाम हटाउने प्रक्रियाबारे स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेको छ । साथै निर्वाचन आयुक्त नियुक्तिसम्बन्धी सन् २०२३ को कानुन खारेज गरी नयाँ व्यवस्था गर्नुपर्ने उसको माग छ ।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार निर्वाचन आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीले मतदाता थपघट तथा नामावली व्यवस्थापनसँग सम्बन्धित विषयमा पछिल्लो १० महिनामा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएका थिए ।
तर, निर्वाचन आयोगले एसआईआरसम्बन्धी मुख्य निर्णयहरू आयोगका तीनै आयुक्तको सर्वसम्मत स्वीकृतिमा भएको बताएको छ ।
मुम्बई प्रहरीले भने शिवाजी पार्कमा सभा गर्न आफूहरूलाई अनुमति दिने अधिकार नरहेको भन्दै आयोजकलाई वैकल्पिक स्थान खोज्न आग्रह गरेको छ ।
प्रहरीले अदालतको आदेश तथा ध्वनि र ट्राफिक व्यवस्थापनसम्बन्धी विषयलाई कारणका रूपमा उल्लेख गरेको छ ।
अनुमति नदिइए पनि आन्दोलन नरोक्ने बताउँदै दिप्केले अक्टोबर २ मा ‘जेल भरो’ घोषणा गरेका हुन् ।




प्रतिक्रिया