कालापानी मुद्दालाई अन्तर्राष्ट्रिय अदालत लैजाऊः मसाल


काठमाडौं – नेकपा मसालले भारतले कालापानी क्षेत्रमा गरेको नेपाली भूभाग अतिक्रमणको विषय अन्तर्राष्ट्रिय अदालतमा लैजान सुझाब दिएको छ ।

भारतले एउटा वक्तव्य प्रकाशित गरेर कालापानी क्षेत्र आफ्नो देशमा नै भएको दाबी गर्दै आफ्नो भूमिमा नै सडक निर्माण गरेको बताएको र त्यसले विषयको गम्भीरतालाई झन् बढाएको मसालको ठहर छ ।

पार्टी महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति निकालेर भनेका छन्, ‘वार्ताको ठाउँमा पुनः त्यही स्थानमा सडकको निर्माण गरेर भारतले आफ्नो साम्राज्यवादी चरित्रलाई नांगो रूपले प्रदर्शन गरेको छ । उपरोक्त प्रकारको पृष्ठभूमिमा नेपाल सरकारले उक्त विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तथा त्यसलाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा समेत लैजानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । हामीले उक्त विषयमा बारम्बार जोड दिँदै आएका छौँ । तर, सरकारले अहिलेसम्म त्यसबारे कुनै निर्णय गरेको छैन । त्यसका लागि पनि हामी सरकारको आलोचना गर्दछौँ ।’

मसालले सडक निर्माणमा नेपाल सरकारको पनि कमजोरी रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामीले उक्त विषयमा सरकारले गरेको विरोधलाई स्वागत गरे पनि त्यसबारे सरकारले देखाएको कमजोरीको पनि आलोचना नगरीकन रहन सक्दैनौँ । प्रथम, भारतले त्यो सडकको निर्माण रातारात गरेको होइन । त्यसले सडक निर्माण गरिरहँदा पनि नेपाल सरकारले त्यसको विरोध गर्ने काम किन गरेन ? द्वितीय, भारतले कालापानी क्षेत्रलाई आफ्नो भूमिमा देखाएर नक्सा प्रकाशित गर्दा पनि नेपालले अहिलेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने काम किन गर्न सकेको छैन ? उक्त विषयहरूमा हाम्रो नेपाल सरकारप्रति गम्भीर आलोचना छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement