फागुनको चुनावमा ​एमालेविरूद्ध ‘मुढा’ उचालेका रोकालाई बनाइयो बागमती योजना आयोगको उपाध्यक्ष

फागुनको चुनावमा ​एमालेविरूद्ध ‘मुढा’ उचालेका रोकालाई बनाइयो बागमती योजना आयोगको उपाध्यक्ष

नेता-कार्यकर्तामा आक्रोश, उपसभामुख दनुवारको टिप्पणी : लाज पनि लजायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. देवराज रोका (कल्याण) नियुक्त भएपछि नेकपा (एमाले) भित्र तीव्र असन्तुष्टि र आक्रोश भएको छ।

पार्टी निर्णय र आधिकारिक उम्मेदवारविरुद्ध गत फागुन २१ गते उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव लडेका व्यक्तिलाई एमालेकै सिफारिसमा उच्च पदमा नियुक्त गरिएको भन्दै पार्टी पंक्तिबाटै चर्को विरोध सुरु भएको हो।

​मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डुको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो।

रोकासँगै आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापा नियुक्त भएका छन्।

नियुक्त भएकाहरूमध्ये रोका र दीपक एमालेबाट, सुरेन्द्रवर राप्रपाबाट र गौतम नेकपाको सिफारिसमा रहेका छन्।

​’बागी’ लाई पद दिएपछि आक्रोश

२०८२ फागुन २१ गतेको निर्वाचनमा एमाले करिब करिब पत्तासाफ भयो । प्रत्यक्षतर्फ एमालेले केबल ९ सीट मात्रै जित्यो । देशभर एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश पदाधिकारी पराजित भए । २०७९ मा ७८ सिट जितेको एमाले २०८२ मा २५ सिटमा खुम्चियो।

एमाले यसरी कमजोर हुनुमा भदौ २३-२४ को जेन-जी आन्दोलन मुख्य कारण थियो । त्यससँगै एमालेबाट विद्रोह गरेर बागी तथा अन्य दलको टिकट लिएका उम्मेदवारका कारण पनि यो पार्टीले इतिहासमै ठूलो धक्का व्यहोर्नुपर्नु परेको थियो ।

यस्तै बागी उठेर एमालेलाई समस्या पार्नेहरूमध्ये एक थिए कल्याण रोका । फागुन २१ को ​प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार दुर्गा कुमार थापाविरुद्ध रोकाले स्वतन्त्र (मुढा छाप) उम्मेदवारी दिएका थिए।

निर्वाचन आयोगको परिणाम अनुसार उनले केबल ८३ मत प्राप्त गरेका थिए। तर एमालेमै रहेर बागी दिनु भनेको सबैभन्दा ठूलो राजनीति घात थियो ।

पार्टी सङ्कटको अवस्थामा रहँदा बागी बनेर पार्टीको धज्जी उडाउने उनै व्यक्तिलाई बागमती प्रदेश सरकारले योजना आयोगको उपाध्यक्ष बनाइदिएको छ । खासमा एमालेको कारबाहीमा पर्नुपर्ने व्यक्तिलाई पुन: उच्च तहको राजनीतिक नियुक्ति दिएको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरूले नेतृत्वको तीव्र आलोचना गरेका छन्।

​एमाले नेता-कार्यकर्ता आक्रोशित

एमाले नेतृ एवम् ​कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले बागमती सरकारको उक्त कदमबारे कडा टिप्पणी गरेकी छन् । उनलेे सामाजिक सञ्जालमै टिप्पणी गर्दै रोष पोखेकी छन्। उनले कडा शब्दमा लेखेकी छन्- लाज पनि लजाएको छ।

उता फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका पारसमणि गेलालसँग पराजित एमाले उम्मेदवार ​दुर्गा कुमार थापाले पनि बागमती सरकारको कदमबारे आपति प्रकट गरेका छन्।

उदयपुर क्षेत्र नम्बर १ मा एमालेका आधिकारिक उम्मेदवार थापाले सामाजिक व्यङ्ग्य गर्दै भनेका छन्, ‘अन्ततः हामी सबैका बा केपी ओली सफल हुनुभएछ। बागमती प्रदेशमा एकेडेमिक योजनाकार नभेटेर खोटाङ खुटुम्बका देवराज रोका (उर्फ कल्याण रोका) लाई उपाध्यक्ष बनाउनुभएछ।’

उनलेे रोकामाथि गम्भीर आरोपसमेत लगाएका छन् । ‘उदयपुरका अनेक कार्यकर्तालाई ठगी गरेर खातासमेत रोका गराउन सफल र एमालेविरुद्ध बागी उम्मेदवारी दिएर पार्टीको धज्जी उडाउने रोकाजीलाई इन्साफ गरेर एमालेको श्रीवृद्धि गर्नुभएकोमा नियुक्ति दिने महान कार्यमा संलग्न सबैलाई बधाई’, थापाले भनेका छन्।

अर्का एमाले नेता ​विमल कार्कीले रोकालाई काँध हाल्ने कदमविरूद्ध नेतृत्वमाथि प्रश्न उठाएका छन् । ‘गत निर्वाचनमा एमालेघाती मुढा छाप उम्मेदवार, युवा स्वरोजगार कोषको ठगलाई योजना आयोगको उपाध्यक्ष बनाएर एमाले पुनर्जागरणको शुभारम्भ गर्नुभएछ’, उनलेे भनेका छन्, ‘एक लज्जायम् परित्याज्य ततः सर्वत्र विजयी भवतु’ अर्थात्, एउटा लज्जा त्यागेपछि मानिस सर्वत्र विजयी हुन्छ।’

​सन्तोष कुमार रौनियारले रोकाको यो नियुक्तिपछि उदयपुर एमालेमा व्यापक असन्तुष्टि देखिएको उल्लेख गर्दै तत्कालीन उम्मेदवार थापाको भनाइलाई साथ दिएका छन्।

​पार्टीका इमानदार कार्यकर्तालाई पाखा लगाएर उम्मेदवारविरुद्ध बागी र विवादित छविका व्यक्तिहरूलाई पटक-पटक अवसर दिइएको भन्दै उदयपुरलगायत बागमती प्रदेशका एमाले कार्यकर्ताहरूमाझ असन्तुष्टि चुलिएको छ। 

चाखलाग्दो कुरा के भने बागमतीमा एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको जोडबलमा किरण थापा मुख्यमन्त्री बनेका हुन् ।

एमाले दलका नेता जगन्नाथ थपलिया खासमा मुख्यमन्त्री हुनुपर्ने थियो । तर ओली र बस्नेतको योजनाअनुसार थपलियालाई बहुमत जुटाउन नदिएर थापालाई दलको नेता नबनाई सिधै मुख्यमन्त्री बनाइएको थियो ।

अहिले उनै मुख्यमन्त्री थापा मगरले एमालेविरूद्ध बागी उठेर मुढा छाप बोकेका रोकालाई प्रदेश योजना आयोग सुम्पेका छन् ।