क्याबिनेटमा बैठकमा कमल थापा र दिनानाथ गिरीबीच चर्काचर्की, मन्त्री गिरीलाई राजीनामा दिन दबाव


काठमाडौं – अघिपछि भन्दा बेग्लै दृश्य देखियो बिहीबारको मन्त्रिपरिषद् बैठकमा । प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रिय सभासम्बन्धी अध्यादेशसहितमा छलफल हुने अपेक्षाविपरीत मन्त्री–मन्त्रीबीच भनाभन र सचिवहरूप्रति गुनासो देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एकछिन अलमलमा परे ।

 

 

सचिव सरुवाको विषयमा राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्रीकमल थापाले बैठकमै पर्यटनमन्त्री दिलनाथ गिरीको राजीनामा मागे । आफ्नै पार्टीबाट सहभागी मन्त्रीको राजीनामा मागेपछि देउवाले पछि छलफल गर्ने भन्दै विषयान्तर गरेका थिए ।

 

आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासकै अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए । उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए ।

 

‘मलाई नसोधी यो प्रस्ताव कहाँबाट ल्याउनुभयो ?’ थापाले उक्त प्रश्न राख्नासाथ दुई जनाबीच विवाद चर्किएको सहभागी एक मन्त्रीले जानकारी दिए ।

 

 

जवाफमा गिरीले मन्त्रालयको कामको प्रकृति र विषय हेरी हालका सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माभन्दा सिंह उपयुक्त हुने भन्दै हेरफेर गर्नुपर्ने बताएका थिए । गिरी अडानमै रहेपछि थापाले दोहोर्‍याएर राजीनामा मागे । त्यसपछि गिरीले राजीनामामाग्ने अधिकार थापालाई नभएको जिकिर गरेका थिए ।

 

‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने हो । तपाईंलाई हैन । मेरो काममा हस्तक्षेप नगर्नुहोला,’ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाप्रति आक्रोश पोखेपछि गिरीलाई प्रधानमन्त्री देउवाले यस विषयमा पछि सल्लाह गर्ने भन्दै विषयान्तर गरेका थिए ।

 

सहरी मन्त्रालय स्रोतका अनुसार सहरी विकास विभागको महानिर्देशक चयनका विषयमा थापा र गिरीबीच पहिले नै मनमुटाव भएको थियो । उपप्रधानमन्त्री थापा सहसचिव शिवहरि शर्मालाई विभागको महानिर्देशक तत्काल बनाउन चाहन्थे तर गिरी भने चुनावी कार्यक्रममा व्यस्त भएकाले राजधानी फर्केर थप छलफल गर्ने पक्षमा थिए ।

 

गत मंसिर १० गते प्रतिनिधिसभाको पहिलो चरणको चुनावका क्रममा विराटनगर पुगेका गिरीलाई थापाले शर्मालाई नै महानिर्देशक बनाउनुपर्ने भन्दै चाँडै राजधानी फर्कन आग्रह गरेका थिए । गिरीले भने त्यो प्रस्ताव स्विकारेनन् । ‘धेरै दबाबपछि गिरीले पार्टी अध्यक्ष थापाले नै भनेअनुसार महानिर्देशक राख्न बाध्य भए ।

 

त्यससम्बन्धी फाइल स्वीकृतिका लागि मंसिर ९ गते विराटनगरमा पुर्‍याइएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्री गिरीले विराटनगरमा होटलमा बसेका बेला शर्मालाई महानिर्देशक बनाउने फाइल सदर गरेका थिए ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement