राजतन्त्रको पक्षमा माहौल बनेको देख्दा गौरवको अनुभूति भएको छ : कमल थापा

राजतन्त्रको पक्षमा माहौल बनेको देख्दा गौरवको अनुभूति भएको छ : कमल थापा


काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको पक्षमा माहौल बनेको देख्दा खुशी र गौरवको अनुभूति भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले राजा सहितको प्रजातन्त्र र हिन्दू राज्यको माग गर्ने जुनसुकै समूहलाई राप्रपा नेपालले समर्थन गर्ने बताए ।

राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दाबी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था नभएको बताए । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल हो, संख्याको कमीले संविधान सभाबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न नसके तापनि जनताको अभिमतबाट हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ,’ उनले भने, ‘यही अधिकारका कारण राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन् ।’

विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुशी र गौरवको अनुभूति भएको उनले बताए ।

‘राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समूहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले लेखेका छन्, ‘विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटि भएका छन् । विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भई निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ ।’

राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थपूर्ति गर्ने माध्यम बनाउन नहुने उनले बताए । ‘यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पूरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन, राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको अभियान कुनै दल वा विचारको विरुद्ध केन्द्रित हुनु हुँदैन,’ उनले भने, ‘प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था होइन । सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ । राजा सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनुपर्छ ।’