संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसक्याे :कमल थापा


काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डाको मुख्य संवाहक आफूहरू नै भएको जिकिर गरे । यसका निम्ति आन्दोलन नै अन्तिम विकल्प भएको उनको भनाइ छ ।

उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति बृहत् राष्ट्रिय मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको टिप्पणी उनले गरे । अबको विकल्प राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहका सरकार भएको उनले बताए ।

“संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्था असफल भइसकेको छ । यो भ्रष्ट व्यवस्थाको जनताले विकल्प खोजेका छन् । त्यो विकल्प भनेको राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र दुई तहको सरकार हो,” उनले भने, “यो सन्देश हामीले आमजनतासमक्ष दिनुपरेको छ । अर्थात्, संघीय गणतन्त्र नामको व्यवस्था असफल भयो । अब हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र अनिवार्य छ । यो उद्देश्य प्राप्त गर्नको निमित्त आन्दोलनबाहेक अर्को विकल्प छैन ।”

प्रतिक्रिया दिनुहोस
Advertisement