निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ : कमल थापा

निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाण्डुलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुने भ्रम नराख्न आग्रह गरेका छन् ।

मंगलबार भएको संयुक्त जनआन्दोलनलाई सम्बोधन गर्दै उनले सिंगो काठमाण्डुलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न नसकिने भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरे ।

उनले भने, ‘नेपालको इतिहासमा पहिलोपटक काठमाण्डु महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाण्डुलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न सकिँदैन ।’

उनले प्रहरीको दमन कायम गरेर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरूलाई जोगाउन सकिन्छ भनेर सोच्नु सपना मात्र भएको पनि बताए ।

कुनै कानून उल्लंघन नगरी भएको शान्तिपूर्ण जुलुसमाथि लाठी प्रहार गर्ने, बुटले हान्ने, प्रतिबन्ध लगाउने जस्ता अपराधका कार्य र दुस्प्रयास कायर र भ्रष्ट सरकारले गरेको उनको आरोप छ ।