राप्रपामा कमल थापाले मागे कार्यकारी अध्यक्ष


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका छन् । अध्यक्षद्वय पशुपती शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसँग थापाले आफूलाई कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका हुन् । पार्टी एकताका बाँकी काम थाँती रहेको अवस्थामा थापाले पार्टीभित्र छुट्टै स्थान खोजेका हुन् ।

स्रोतकाअनुसार थापाको उक्त प्रस्ताव दुवै अध्यक्षले अस्वीकार गरेका छन् । दुवै अध्यक्षले पार्टी  एकताको काम टुंगोमा पुर्याउनुपर्ने बेला थापाको उक्त प्रस्तावमाथि आशंका व्यक्त गरेका छन् । महाधिवेशनसम्म तीन अध्यक्षको हैसियत बराबर रहनेगरी पार्टीलाई नेतृत्व गर्नुपर्ने राणा र लोहनीको धारणा छ ।

‘पार्टी एकता लगायतका बाँकी काम टुंगो लाग्न नसकेको अवस्थामा कमल थापाले पार्टीभित्र कार्यकारीको भूमिका माग्नु भएको छ । यो भनेको काम कुरो एकातिर कुम्लो बोकी.. जस्तै हो’, राप्रपा निकट स्रोतले भन्यो , ‘दुवै अध्यक्षज्यूहरुले उहाँको प्रस्तावमा हामी सहमत छैनौं र यो हुँदा पनि हुँदैन भनेर जवाफ दिनुभएको छ ।’

त्यस्तै चुनाव चिन्हका कारण पनि राप्रपा निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन् । कमल थापा समूहको राप्रपाले चुनाव चिन्ह गाई राख्नुपर्ने अडान लिएको छ भने अध्यक्षद्वय राणा र लोहनीले हलो चुनाव चिन्ह राख्नुपर्ने बताउँदै आएका छन् ।

‘कमल थापाको राप्रपाले अहिले पार्टी दर्ता गरौं । एकता भएको ६ महिनाभित्र चुनाव चिन्हबारे उपर्युक्त समय निर्णय गरौं भन्ने छ । तर, साउन २५ गते ६ महिना पुग्छ’, स्रोतले भन्यो, ‘राप्रपा संयुक्तले चुनाव चिन्हसहित आयोगमा दर्ता गरौं भन्ने छ ।’

राप्रपाको गाईलाई राप्रपाको झण्डाको रुपमा राप्रपा संयुक्तले स्वीकार गरिसकेको छ । त्यसकराण त्यसलाई झण्डाको रुपमा स्वीकार गरेपछि निर्वाचन चिन्ह हलो हुनुपर्ने राप्रपा संयुक्तको माग छ । त्यस्तै राप्रपाको अन्तरिम विधान भनेर राप्रपा संयुक्त स्वीकार गरिसकेको एक नेताले बताए ।

‘राप्रपासँग राप्रपा संयुक्त विलिन भएको होइन । पार्टी एकता गरेको हो । एकीकरणको सन्र्दभमा विश्वमा दुवै पार्टीको अस्तित्व रहने प्रक्रिया छ’, ती नेताले भने, ‘हामीले राप्रपाको चुनाव चिन्ह हलो हुनुपर्छ भनेर अडान लिएको छौं हामी पछि हट्ने अवस्था छैन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement