१५ वर्षपछि सञ्चालनमा आउँदै कमला पुल (तस्बिरहरू)

१५ वर्षपछि सञ्चालनमा आउँदै कमला पुल (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको निर्माणाधीन पुल १५ वर्षपछि सञ्चालनमा आउने भएको छ ।

आगामी पुस पहिलो सातादेखि हलुका सवारीसाधन, मोटरसाइकल र पैदलयात्रीका लागि पुल खुला गर्ने तयारी भइरहेको हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख इन्जिनियर कृष्ण महतोले जानकारी दिए ।

मंसिरको पहिलो साताभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि एप्रोच सडक निर्माण, पुलमाथि वियरिङ कोर्स बिछ्याउने, रेलिङ जडान तथा रङरोगनको काम बाँकी रहेपछि सञ्चालन मिति पछि सारिएको हो ।

कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा उद्घाटनको तयारी थियो । तर, बाढीले पुलको पिलर भाँचिएपछि जीर्ण बनेको थियो । बाढीले क्षति पुर्‍याएपछि सोही निर्माण कम्पनीले अहिले पुलको पुनःनिर्माण गरिरहेको छ ।

पुल पुनःनिर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले लामो समयसम्म खोला वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको छ ।

हाल पुलको पूर्व र पश्चिमतर्फको सडक जोड्न माटो पुर्ने कामसमेत भइरहेको छ ।

तस्बिर : सुरेन्द्र कमाती/नेपाल फोटो लाइब्रेरी