कमजोर व्यवस्थापनले उपत्यकामा संक्रमण बढ्दो


काठमाडौँ – सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ । गाउँबाट आएकी उनी ठिमीको शंखधर चोकको यचु पार्टी प्यालेससँगैको एक घरमा साथीको कोठामा बसेकी थिइन् । कुनै लक्षण नभए पनि उनी कार्यरत अस्पतालले काममा फर्कनुअघि परीक्षण गर्न पठाउँदा संक्रमण देखिएको हो ।

त्यस्तै, काठमाडौंको चन्द्रागिरि, मच्छेगाउँ बस्ने एक युवतीमा मंगलबार संक्रमण देखियो । उनी सोमबार कञ्चनपुरको वेदकोट नगरपालिका–१०, हरपालबाट काठमाडौं आएकी थिइन् । चैत पहिलो साता काठमाडौंबाट गएकी उनी सशस्त्र प्रहरीको गाडीमा फर्किएकी थिइन् । उनका पति सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत छन् । उनले श्रीमतीलाई परीक्षण गराउन सशस्त्रको बलम्बुस्थित अस्पताल लगेका थिए । परीक्षण क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएका भक्तपुर, दुवाकोटका पुरुष पनि रामेछापबाट काठमाडौं आएको पाइएको छ । नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा संक्रमण पुष्टि भएको हो । रावलका स्वकीय सचिव गोविन्द दुलालका अनुसार श्रीमती बिरामी भएपछि बिदामा गएका उनी एक महिनापछि फर्किएका थिए । रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

‘तीनै जनामा कुनै लक्षण नभए पनि परीक्षण गर्दा कोभिड–१९ पुष्टि भएको छ,’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने, ‘बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा कडाइ नगरिएकै कारण संक्रमित व्यक्ति सहजै प्रवेश गरिरहेका छन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement