कञ्चनपुरका हावाहुरी पीडित भन्छन् -नेपाली सेना आउँदा सास फेर्न पाइयो


कञ्चनपुर – एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति र्पुयाएको छ । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काटिरहेका छन् ।

कञ्चनपुरमा हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति र्पुयाएको तथ्याङ्क छ । हावाहुरीले पूर्णरुपमा क्षति र्पुयाएपछि त्यहाँका पीडितहरु अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य भइरहेका छन् । “राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ”, दानी ओडले भने, “घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ ।” उनले हावाहुरीपछि नेपाली सेना बस्तीमा आउँदा गाउँलेहरुलाई निकै राहत पुगेको बताए ।

“सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरु बनाइदिने काममा अहोरात्र खटिएको छ”, उनले भने, “सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु ।” पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उनको भनाइ छ । “खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरु लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके”, उनले भने, “सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ ।”

त्यसैगरी कृष्णपुर नगरपाकिला– ६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन् । “घरको छाना उडाएर राति खाटमुनी पसेर चार जनाको परिवार बाच्यिौँ’, भट्टले भने, “अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ ।” उनले सेनाले उद्दार लगायतका काममा सहयोग गरेको सुनेपनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताए ।

“स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन”, उनले भने, “खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु ।” हावाहुरीले वडा नं. ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरु भाचिँएका छन् । भने रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ ।

भत्किएका छाना-टहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ । गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ । हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement