प्रचण्डकी बुहारी विना मगरको गृहजिल्ला कञ्चनपुरमा एमालेले जोगाउला ०७४ को बिरासत ?


काठमाण्डु – स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सात नगरपालिकासहित दुई गाउँपालिका रहेको कञ्चनपुरमा ०७४ को निर्वाचन परिणामअनुसार पाँच पालिका जितेको एमाले पहिलो दल हो ।

एमालेले कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिका जितेको थियो । तर, एमालेबाट निर्वाचित पुनर्वास र वेदकोट नगरपालिकाका प्रमुखहरू एकीकृत समाजवादी पार्टीमा लागेका छन् । कांग्रेसले महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका जितेको थियो । पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा एमालेले तीन सयभन्दा कम मतमा जित हासिल गरेको थियो ।

माओवादीले बेलौरी नगरपालिका, लालझाँडी गाउँपालिका जितेको थियो । अहिले पनि जिल्लामा एमाले, कांग्रेस र माओवादीबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । एमाले बिरासत जोगाउन लागिपरेको छ भने कांग्रेस एमाले विभाजनको फाइदा उठाउँदै सबै पालिकामा जित हासिल गर्ने दाबीसहित तयारीमा लागेको छ । माओवादी पनि विगतको बिरासत जोगाउँदै थप केही पालिकामा जित हासिल गर्ने रणनीतिमा देखिन्छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले पनि जिल्लामा आफ्नो शक्ति परीक्षण गर्दै छ ।

केन्द्रीय निर्णयअनुसार पाँचदलीय गठबन्धन बनाउने गृहकार्य भए पनि सहमति जुट्न नसक्दा एक्लाएक्लै लड्ने तयारी नेताहरूले गरेका छन् । पाँच दलबीच तालमेल नभएको खण्डमा भने केही पालिकामा एमालेलाई सहज हुने देखिन्छ । एमाले नेताहरूले भने विभाजनको असर जिल्लामा नरहेको र त्यसको पूर्ति माओवादीबाट नेता–कार्यकर्ता ल्याएर गरेको दाबी गर्दै आएका छन् ।

यद्यपि, नयाँ मतदाता, विगतमा जनप्रतिनिधिका काम र कुन दलले कस्तो उम्मेदवार अघि सार्छ ? त्यसले चुनावी परिणाम तलमाथि हुन सक्नेछ । गत निर्वाचनमा राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चाका उम्मेदवार निर्वाचनमा सहभागी थिए ।

जिल्लामा आगामी निर्वाचनका लागि १ लाख ४३ हजार २ सय ४१ पुरुष, १ लाख ५२ हजार महिला र १ अन्य गरी २ लाख ९५ हजार ३ तीन ५४ मतदाता सहभागी हुँदै छन् । यस्तै, ६ राष्ट्रिय दलबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका, तर आफ्नै निर्वाचन चिह्न प्राप्त गरेका १९ दल दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement