अस्ट्रेलियाको राजदूतमा सिफारिस कान्ताको नाम प्रधानमन्त्री कार्यालयबाटै गायब !

अस्ट्रेलियाको राजदूतमा सिफारिस कान्ताको नाम प्रधानमन्त्री कार्यालयबाटै गायब !


काठमाण्डु – संसदीय सुनुवाइ विशेष समितिले मंगलबारदेखि प्रस्तावित राजदूतको सुनुवाइ गर्न लाग्दा परराष्ट्र मन्त्रालयमा खलबली मच्चियो । अस्ट्रेलियाको राजदूतमा सिफारिस कान्ता रिजालको नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा नपुगेपछि सोधीखोजी भयो ।

मंगलबार सुनुवाइ समितिले राजदूतको सुनुवाइ अगाडि बढाउन लाग्दा सिफारिस राजदूतको सूचीमा कान्ताको नाम भेटिएन । त्यसपछि सोधीखोजी हुन थाल्यो ।

प्रस्तावित राजदूत रिजाल मंगलबार परराष्ट्र मन्त्रालयमै पुगिन् । तर परराष्ट्रमा पुग्दा पनि उनको नाम भेटिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले परराष्ट्र मन्त्रालयलाई पठाएको प्रस्तावित राजदूतको सूचीमा कान्ताको नाम थिएन ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले पठाएको पत्रमा कान्ताको नाम छैन । १८ जनाको नाम मन्त्रिपरिषद् बैठकले राजदूतमा प्रस्ताव गरेको भए पनि परराष्ट्र पुगेको पत्रमा १७ जनाको नाम मात्रै छ ।

साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दैै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ट्रेलियाको राजदूतमा कान्ता रिजाललाई सिफारिस गरिएको जनाएका थिए । सरकारका निर्णय लिखित रूपमा सार्वजनिक गर्दा पनि कान्ताको नाम दोस्रो नम्बरमा लेखिएको थियो ।

तर परराष्ट्र मन्त्रालयमा पठाइएको पत्रमा उनको नाम काटिएको पाइएको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्रमा उनको नाम किन पठाएन ? सोधीखोजीको विषय बनेको छ ।

को हुन् कान्ता ?

कान्ता रिजाल यसअघि इजरायलको राजदूत थिइन् । उनी नेपाली कांग्रेसको सिफारिसमा राजदूत हुँदै आएकी छन् । इजरायलमा हुँदा उनी गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पनि थिइन् ।

पाँचथरको आङसराङकी रिजाल पुराना कांग्रेस नेता तथा नेपाली कांग्रेस पाँचथरका पूर्व जिल्ला सभापति गणेश रिजालकी छोरी हुन् । नेता गणेश २०१५ सालका सांसद समेत थिए ।

कान्ता स्वयं पनि लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । उनी कांग्रेस महासमिति सदस्य समेत भएकी हुन् । रिजाल पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार थिइन् ।