कपिलवस्तुमा प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते,आधुनिक हतियार बरामद


तौलिहवा – प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।

बिहीबार बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम बनाउने सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।

शिवगढी गाउँमा विप्लवको आधार ईलाका रहेको र हतियार समेत निर्माण गर्ने थलोका रुपमा प्रहरीले यसअघिदेखि नै निगरानी बढाएको थियो । प्रहरीले विप्लवका अरु धेरै नेता र कार्यकर्तालाई पक्राउ गर्ने योजना बनाए पनि स्थानीय विद्यालयका विद्यार्थीहरुले विरोध गर्दै आन्दोलन गरेपछि एकजनालाई मात्रै पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement