काठमाण्डु – ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायांकन सम्पन्न भएको छ ।
मंसिरको अन्तिम हप्ताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करीब ४६ दिन र काठमाण्डुमा १२ दिन गरी छायांकन पूरा भएको छ ।
चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको छ ।
‘कर्मा’को फस्र्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माण पक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै २ वटा पोस्टर सार्वजनिक गरेको थियो, जसमा विपीन कार्की फिचर्ड थिए ।
सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ । सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ ।
एक्सन जनरामा कर्मा चलचित्र निर्माण भएको छ । ‘कर्मा’ विपीनको पहिलो एक्सन सिनेमा हो, जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायत कलाकारको अभिनय छ ।
मुकुन चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।
प्रतिक्रिया