आचरणविरोधी काम गर्ने १६ सय कर्मचारी कारवाहीको सूचीमा


काठमाडौ – केन्द्रीकृत शासन प्रणाली हटेर मुलुकमा संघीय शासन प्रणाली लागू भएको साढे दुई वर्ष बितिसक्दा समेत सरकारी कर्मचारीको प्रवृत्ति भने फेरिन सकेको छैन्। देशभरका ८ सय ५८ वटा सरकारी कार्यालयमा गरिएको विभिन्न छड्के अनुगमनमा कामचोर र आचरणविरोधी काम गर्ने १ हजार ६ सय कर्मचारी कारवाहीको सूचीमा परेपछि कर्मचारीको प्रवृत्तिमा कुनै परिवर्तन नआएको पुष्टि भएको हो।

अधिकांश सरकारी कार्यालयमा अहिले पनि कर्मचारीहरु कार्यालय समय भन्दा ढिलो आउने र कामचोर प्रवृत्ति यथावत् रहेको राष्ट्रिय सर्तकता केन्द्रको अध्ययन र अनुगमनले देखाएको छ। सर्तकता केन्द्रले पछिल्ला केही महिना यतादेखि देशका विभिन्न ३८ वटा जिल्लाका सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा अधिकांश कर्मचारीहरुले समय पालना नगरेको पाइएको हो।

केन्द्रका प्रवक्ता सहसचिव विष्णुराज लामिछानेले अहिले पनि कर्मचारीमा समयको पालना गर्ने प्रवृत्तिमा खासै सुधार आउन नसकेको जानकारी दिए। ‘कार्यालयमा कर्मचारीहरु समयमा नआउने र आएपनि हाजिर गरेर निस्कने पूरानो प्रवृत्तिमा खासै सुधार आउन सकेको छैन’ उनले भने। केन्द्रले पहाड, हिमाल र तराईका गरी ३८ जिल्लाका सरकारी कार्यालयमा विभिन्न टोली बनाएर आकस्मिक छड्के अनुगन गरेको थियो। अनुगमन गरिएका कार्यालयहरुमा सेवाग्राहीका बढी भीड लाग्ने मालपोत, नापी, जिल्ला प्रशासन, गाउँपालिका, नगरपालिका, श्रम कार्यालय, वैदेशिक रोजगार विभाग, यातायात कार्यालय लगयातका कार्यालय छन्।

सो अनुगमनका क्रममा १ हजार १ सय ४ जना कर्मचारीहरुले समयको पालना नगरेको र ५ सय ३० जना कर्मचारीले तोकिएको पोशाक नलगाएर आचारण विरोधी काम गरेको सर्तकता केन्द्रले जनाएको छ। समय पालना नगर्ने र तोकिएको पोशाक नलगाउने १ हजार ६ सय ३४ जना कर्मचारीलाई सर्तकता केन्द्रले आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको थियो। विभिन्न निकायबाट कर्मचारीलाई कारवाही गरिएको जानकारी केन्द्रमा प्राप्त भएको छ। यद्यपि, सम्बन्धित निकायले आचरणविरोधी काम गर्ने कर्मचारीलाई सामान्य कारवाही गरेर छोडिदिने भएकाले कर्मचारीहरु खासै संवेदनशील हुन नसकेको सर्तकता केन्द्रका अधिकारीहरुले बताए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement