कर्मचारीले सहयोग नगरेको प्रधानमन्त्रीसमक्ष मुख्यमन्त्रीहरुको गुनासो


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी केही तत्वहरूले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको बताएका छन् ।
काठमाडौं अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई कमजोर बनाउन गौंडाहरू कुरिबसेकाले त्यस्तालाई मौका दिनु नहुने बताएका छन् ।

‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ। संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरू कुरेर बसेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ताहरूलाई मौका दिनुहुँदैन ।’ देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनको प्रयास गर्नेकाविरूद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्री ओलीले बताए ।

‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। अब चाँहिएको कुन व्यवस्था हो ? यही व्यवस्थाभित्रबाट जे चाँहिएको हो त्यही कुरा पाउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने ? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काममात्र हो ।’ संघीयतालाई सफल बनाउन कर्मचारीले सहयोग नगरेको गुनासो मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष पोखेका थिए । उनीहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताए ।

‘कर्मचारीहरू पनि संघीयतामा पोख्त होइनन् । उनीहरूले पनि संघीयताको प्रयोग सिक्दैछन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरूले जाने बुझे अनुसार सहयोग नै गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement