बालेन सरकारमाथि कर्ण थापाको प्रहार : सुशासन र पारदर्शिताको सवालमा ६ महिनामै असफल भइसक्यो

बालेन सरकारमाथि कर्ण थापाको प्रहार : सुशासन र पारदर्शिताको सवालमा ६ महिनामै असफल भइसक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता कर्ण थापाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार सुशासन, विकास र पारदर्शिताका सवालमा असफल भएको आरोप लगाएका छन्।

काठमाडौंमा बिहीबार आयोजित साक्षात्कारमा बोल्दै थापाले सरकार गठन भएको ६ महिनामै सुशासनको मामिलामा चुर्लुम्मै डुबेको टिप्पणी गरे।

‘सरकार बनेको ६ महिना पुग्दा सुशासनको मामिलामा बालेन सरकार चुर्लुम्मै डुबिसकेको छ,’ थापाले भने।

उनले १० वर्षमा गर्ने काम दुई वर्षमै सम्पन्न गर्ने दाबी गरेको सरकारले त्यसअनुसार काम गर्न नसकेको बताए। सरकारको वर्तमान गति हेर्दा दाबीअनुसार काम हुने कुनै संकेत नदेखिएको उनको भनाइ छ।

थापाले युवालाई स्वदेश फर्काउने सरकारको घोषणा पनि कार्यान्वयन हुन नसकेको आरोप लगाए।

‘सरकार बनेको सय दिनभित्र युरोप, अमेरिका र खाडीका देशबाट युवाहरूलाई फर्काउने आश्वासन दिइएको थियो। तर अहिले झन्–झन् युवा विदेशिन बाध्य छन्,’ उनले भने, ‘रास्वपाले देशका युवाहरूलाई झुक्याउने काम मात्र गरेको छ।’

सरकारले विधिको शासन, जवाफदेहिता र सुशासनका क्षेत्रमा कुनै उल्लेखनीय काम गर्न नसकेको पनि थापाको आरोप छ।

‘विधिको शासन, जवाफदेहिता र सुशासनका क्षेत्रमा सरकारले सिन्कोसम्म भाँच्न सकेको छैन,’ उनले भने।

एमालेमा बहस

थापाले एमालेको आन्तरिक राजनीतिबारे बोल्दै पार्टीमा आमूल परिवर्तन आवश्यक रहेको बताए। उनले विधि र प्रक्रियाअनुसार नेतृत्व परिवर्तनका लागि पार्टीभित्र सघन छलफल भइरहेको दाबी गरे।

‘हामी पार्टीमा आमूल परिवर्तनको पक्षमा छौँ। विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन गर्न अहिले सघन छलफल भइरहेको छ,’ थापाले भने।