कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ ।

सडक खण्डको निर्माणको काम भइरहेकाले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।

कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्किने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

रामाघाट–साईगाउँ खण्डको दूरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्किनुपर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पार गर्नुपर्नेछ । कालोपत्रे सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिबगर र साईगाउँ क्षेत्रमा निकै सास्ती भएपछि सडक निर्माणको काम थालिएको छ ।

सडक डिभिजन कार्यालय खड्का केएसके शिशिर वसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर निर्माणको काम थालेको थियो । सडक निर्माणको क्रममा सवारी चापले काम गर्न समस्या भएपछि असार अघिसम्म काम सक्ने गरी वैकल्पिक रुट दिनुपरेको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुम भण्डारीले जानकारी दिए ।

‘दैनिक आवतजावत हुने उच्च सवारी चापले निर्माणमा अवरोध भयो,’ उनले भने, ‘निर्माणले अपेक्षाकृत गति लिन नसकेको र दुर्घटनाको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनलाई सुरक्षा मिलाइदिन पत्राचार गरिएको हो ।’

राजमार्ग जेठ ११ गतेसम्म दैनिक बिहान ८ बजेदेखि १२ र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म बन्द हुनेछ । लामो समयसम्म सवारी रोक्नुभन्दा वैकल्पिक सडकबाट सवारी आवागमन मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । नागरिकलाई दुःख दिनेभन्दा पनि वर्षात अगावै साईगाउँ–सिस्ने खण्डको सडक सुधार गरेर सहज आवागन गराउने लक्ष्य रहेको भण्डारीले बताए ।

२०८३ असारमा काम सम्पन्न गर्ने गरी खड्का केएसके शिशिर वसन्त जेभीले पाली–रामाघाट १२ र सिस्ने–साईगाउँ १२ गरी २४ किलोमिटर सडक निर्माण सम्झौता गरेको छ । कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डको ८ किलोमिटर सडकसहित जेभीसँग २४ करोडमा सम्झौता गरिएको भण्डारीले जानकारी दिए । बिग्रिएको सडक सुधार, नाला निर्माण र असारसम्म वेश बिछ्याएर भदौसम्ममा सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।