सुर्खेत – कर्णालीका यातायात व्यवसायीले सोमबारदेखि कालो र रातो प्लेटका सवारीसाधनहरू चल्न नदिने चेतावनी दिएका छन् ।
सरकारले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
सवारी ऐन विपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेकाले आन्दोलन गर्नुपरेको यातायात व्यवसायीको भनाइ छ । आईतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समिति कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले सोमबारदेखि सार्वजनिक यातायात चल्न नदिने बताए ।
गण्डकी प्रदेश सरकारले ल्याएको विधेयक खारेज गर्नुपर्ने सापकोटाले बताए । ‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितमा छैन,’ उनले भने, ‘संघीय सवारी ऐन २०४९ को विपरीत छ ।’ प्रदेश सरकारले गण्डकीको जस्तै कानून बनाएको अवस्थामा सार्वजनिक यातायात धरापमा पर्ने सापकोटाले बताए ।
गण्डकीको नियमावली खारेज नभए जेठ १९ गतेदेखि लामो दूरीका सवारीसाधन सञ्चालन नगर्ने उनको भनाइ छ ।
यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितिले सरकारलाई ७ बुँदे ज्ञापन पत्र समेत बुझाएको छ । उनीहरूले विभिन्न ७ बुँदे माग राखी आईतबार देशभर १ घण्टा चक्काजाम समेत गरेका छन् ।
प्रतिक्रिया