मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ३९ रनले हार्‍यो कर्णाली

मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ३९ रनले हार्‍यो कर्णाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा सुदूरपश्चिमले सानदार जित निकालेको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १७७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।

यो जीत सँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लेको छ। सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार भोग्दै तालिकामा ६ अंक जोडेको हो। समान दुई खेलमा जित र हार भोगेको कर्णाली भने चार अंकमा तालिकाको चौथो स्थानमा झरेको छ।

कर्णालीका डेभिड मिलरले अर्धसतक जोडेपनि लक्ष्य पुरा गर्न सकेन । डेब्यु खेलमै ९३ रन जोडेका छन् । उनले ५५ बलमा ७ छक्का र ५ चौका प्रहार गरे । मिलरले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विकेटकिपर दीपक डुम्रेले १२ बल खेल्दै ३ चौका १ छक्का मद्दतमा १८ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १-१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन जोडेको हो।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटका लागि ७.३ ओभरमा ६८ रनको साझेदारी गरे। विनोदले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए। उनी रन आउट भए।

त्यस्तै, सैफ जैबले २४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। उनी सूर्य तामाङको बलमा बोल्ड भए।

ब्रान्डन म्याकमुलेनले २४ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन जोडे। इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ३ छक्कासहित २३ रन बनाए। आरिफ शेखले ११ रनको योगदान दिए।

थरिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहे।

कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक २ विकेट लिए। उनले २७ रन खर्चिए। नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान १–१ विकेट हात पारे।