कर्णालीकाे नेतृत्व एमालेलाई दिने बालुवाटारको सहमति नमान्ने अडानमा माओवादी


काठमाण्डु- केन्द्रमा सत्ता गठबन्धन दलहरुबीच कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि सोमवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले राजनीतिक अन्योलता बढेको हो ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।

कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ ।

माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनिति बनाउन व्यस्त भएको छ । यता अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।

त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत पाउन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्नेछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ । त्यस्तै कांग्रेस सरकारबाट बाहिरिएकोले विश्वासको मत दिने सम्भावना रहेको देखिदैन ।

४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement