कर्णालीले पार गर्‍यो ‘वार्निङ लेभल’, ठाउँठाउँमा कटान, सडक अवरुद्ध

कर्णालीले पार गर्‍यो ‘वार्निङ लेभल’, ठाउँठाउँमा कटान, सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कर्णाली नदीमा पानीको सतह बढेको छ । चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

कर्णालीमा पानीको सतहले ‘वार्निङ’ लेभल पार गरेको हो । पानीको सतह १० दशमलव २५ मिटर पुगेको छ ।

नदीमा पानीको सतह १० मिटर पुग्नुलाई वार्निङ लेभल पार गरेको मानिन्छ भने १० दशमलव ८० मिटरलाई खतराको तह मानिन्छ । गेज रिडर पार्वती गुरुङले नदीमा पानीको सतह क्रमिक रुपमा बढिरहेको जानकारी दिइन् ।

कर्णालीको सहायक नदी सेतीमा पनि पानीको सतह बढिरहेको छ । सुदूरपश्चिममा बिहीवारदेखि भारी वर्षा भइरहेको छ । पहाडी जिल्लाहरुमा निरन्तर वर्षा भइरहेकाले कर्णाली नदीमा पानीको सतह बढेको हो ।

कैलालीमा थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज र भोलि कर्णाली, पश्चिम सेती, महाकाली र बबई र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । भोलि ती नदीहरूको जलसतह सतर्कतादेखि खतरा तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

आज बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको उच्च जोखिमको पूर्वानुमान गरिएको छ । दाङ, बाँके, सल्यान, सुर्खेत, जाजरकोट, कालीकोट, दैलेख, अछाम, बाजुरा, बझाङ भई बहने केही साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको पूर्वानुमान छ ।

ठाउँठाउँमा कटान

कर्णाली नदीमा पानीको सतह बढेपछि ठाउँठाउँमा कटान हुन थालेको छ । टीकापुर नगरपालिका–५ दौलतपुरघाटमा नदीले कटान तीव्र पारेको छ । दौलतपुरस्थित मन्दिर नजिकै नदीले कटान तीव्र पारेको छ ।

दौलतपुरमा नदी बस्तीमा पस्यो भने टीकापुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का दर्जन बढी बस्ती जोखिममा पर्ने देखिन्छ ।

सुदूरपश्चिमका सडकहरू अवरुद्ध

सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग अवरुद्ध छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि के आईसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

अहिलेसम्म बाढीले ठूलो क्षति नपुराए पनि स्थानीयहरू सुरक्षित स्थानमा जाने क्रम जारी छ । कैलालीको दक्षिण क्षेत्रको बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेहरू उच्चो क्षेत्रमा जान थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले यस अघि नै बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थलमा रहन सूचना जारी गरिसकेको छ ।