काठमाण्डु-माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुँदैछ ।
मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट चार मन्त्रीसहित आज सरकारमा जान लागेको हो । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले हिजो राष्ट्रपतिबाट शपथ लिएर आज सुर्खेत पुगेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नयाँ प्रदेश प्रमुखको पदभार ग्रहण पछि नयाँ मन्त्रीहरूको पनि शपथ हुनेछ । प्रदेश प्रमुख जोशीले पदभार ग्रहण गरेलगत्तै कांगेैस सरकारमा सामेल हुने नेताहरूले बताएका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने सम्भावना रहेको जानकारी दिए ।
कांग्रेसबाट राजीव विक्रम शाहको नेतृत्वमा घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा मन्त्री बन्दैछन् ।
चारमध्ये तीन जना संस्थापन पक्षधर छन् भने सुरेश अधिकारी इतर पक्षधर हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चारवटा कांग्रेसले सम्हाल्ने छ ।
प्रतिक्रिया