कर्णाली प्रदेशमा माओवादी केन्द्रभित्र लफडा : मन्त्रीको बधाई खाएका विष्टको नाम अन्तिममा आउट


सुर्खेत– कर्णाली प्रदेशमा माओवादी केन्द्रभित्र मन्त्री नियुक्तीमा विवाद देखिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बुधवार तीन जना मन्त्री नियुक्त गरेका थिए । तर, फेरी आइतबार उनले थपेका दुइ जनालाई निरन्तरता दिएका छन भने एक जना मन्त्रीलाई सपथ नलिंदै हटाएका छन् । हटाइनेमा सांसद विन्दमान विष्ट रहेका छन । यसले माओवादी केन्द्रभित्र नेताहरु शक्तिबहादुर बस्नेत र जनार्दन शर्माको लडाई सतहमै आएको छ ।

माओवादी केन्द्रका युवा नेता रमेश मल्ले कर्णाली प्रदेशको निर्णय अपरिपक्व ढंगले भएको बताए । उनले भने ्‘सुरुमा गृहकार्य नै नगरी तीन जना मन्त्री बनाउने निर्णय गर्ने, गठवन्धनलाई किन चिढाउने, अनि फेरी मन्त्रीबाट एउटालाई मात्र किन हटाउने ? यो राम्रो काम भएन । पार्टीलाई स्वेच्छाचारी ढंगले चलाउदै जाने अर्कोतिर सुझाव संकलनकाको नाटक गर्नुको कुनै अर्थ छैन । ।’

मुख्यमन्त्री शाहीले नेकपा माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् । यसअघि विष्टलाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको थियो भने नेपालीलाई मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

नेपाली कांग्रेसले पुर्व सहमतीअनुरुप दुई मन्त्रालय दिनुपर्ने माग राखेपछि मुख्यमन्त्री शाहीले विष्टको नाम कटाएर सामाजिक विकास र उर्जा तथा जलस्रोत मन्त्रालय कांग्रेसलाई दिने तयारीमा छन् ।

माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरको दबावमा नेता बस्नेत निकट रहेका सांसद विन्दमान विष्टलाई निरन्तरता नदिएका हुन् । विष्ट नेता बस्नेत गृहमन्त्री हुंदा उनका स्वकिय सचिव थिए भने उनि अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव समेत बनेका थिए । आज दुई मन्त्रीको सपथ दिउंसो १ बजे राखिएको छ ।

शर्माको दबावमा उनका भाई गोपाल शर्मालाई भने आर्थिक मामिलाको जिम्मेवारी दिइएको छ । रुकुमका सांसद राते कामीलाई मन्त्री बनाउंदा विष्टको मन्त्री बन्ने सम्भावना थियो तर, शर्माले आफु निकटलाई मन्त्रीमा सिफारीस गरेपछि विष्टको नाम मन्त्रीको बधाई खाइसकिएपछि काटिएको हो । यसअघि जुम्लाका नरेश भण्डारी र रुकुमकै विमला केसीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

विष्ट अघिल्लो पटक नै मन्त्रीको दावेदार थिए । तर, शर्माकै दबावमा यसपटक मुख्यमन्त्री शाहीले उनको नाम मन्त्रीको सुचीबाट हटाएर दबाव सिता नेपालीलाई मन्त्री बनाउने निर्णय गरेका हुन ।  मुख्यमन्त्री शाहीले शर्मा र बस्नेत दुवैलाई सन्तुलनमा राख्न गोपाल र विन्दमानलाई मन्त्री नियुक्त गर्ने तयारी गरेपनि उनले अन्तिममा शर्माको दबाव थेग्न नसकेको नेताहरु बताउंछन् ।

मुख्यमन्त्रीको उक्त निर्णयपछि माओवादी नेता बस्नेत असन्तुष्ट बनेका छन् । मुख्यमन्त्रीमा शाहीको नाम बस्नेत प्रदेश इन्चार्ज हुंदा उनले नै सिफारीस गरेका हुन । तर, पछिल्लो समय शाही शर्मासंगै निकट रहेको बताइन्छ । हाल माओवादी केन्द्रका प्रदेश इन्चार्ज शर्मा छन् ।

माओवादी नेता बस्नेतले कर्णाली प्रदेशको पछिल्लो अवस्थालाई इंगित गर्दै भनेका छन् ‘निर्णय त्यसको कार्यान्वयन नगरेर अर्को निर्णय यो अब्यबस्था र अस्थिरता कहिले सम्म ? सात पटक नाप्न सिकौं…..।’

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य बस्नेतको फेसबुक स्टाटस तल माओवादी नेता रमेश मल्लले कर्णालीको पछिल्लो अवस्थासम्म आउंदा हाम्रो पार्टी नेतृत्व कति हदसम्म जान सक्छन् भन्ने भनिरहन नपर्ने बताएका छन् ।

उनले भनेका छन्‘ कर्णालीको पछिल्लो अवस्थासम्म आउंदा हाम्रो पार्टी नेतृत्व कति हदसम्म जान सक्छन् भन्ने भनिरहन परेन दाजु। एकातिर पार्टीलाई स्वेच्छाचारी ढंगले चलाउदै जाने अर्कोतिर सुझाव संकलनको नाटक किन हो दाजु? यो ताल्ले नेतृत्व प्रतिको भरोसा गुम्दै जान्छ । राजनीतिमा मुल्यको संकट गहिरो हुन्छ। अनि के तागतले हुन्छ आन्दोलनको पुनर्गठन ??? ’

प्रतिक्रिया दिनुहोस
Advertisement