काठमाण्डु– जम्मू–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको विरोधमा शुक्रबार दिल्लीका व्यापारीहरूले ’दिल्ली बन्द’ को आह्वान गरेका छन् । यसका कारण राजधानीका विभिन्न बजारहरू बन्द रहेका छन् ।
भारतभर विभिन्न शहरहरूमा नागरिकहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै आक्रमणको विरोध जनाएका छन् । ओडिसाको भुवनेश्वरमा भारतीय जनता पार्टी (भाजपा) युवा मोर्चाले बिहीबार साँझ प्रदर्शन गरेको थियो ।
उक्त प्रदर्शनमा सहभागी भाजपा ओडिसा प्रदेश अध्यक्ष मनमोहन सामलले सरकारले आतङ्कवादको अन्त्यका लागि दृढ प्रतिबद्धता जनाएको उल्लेख गरे ।
काश्मीरको अनन्तनागमा सरकारी विद्यालय ‘स्यामस’ का विद्यार्थीहरूले शान्तिपूर्ण पदयात्रा गर्दै आक्रमणको विरोध जनाए । चण्डीगढ़मा नागरिकहरू प्लेकार्डसहित भेला भई न्यायको माग गर्दै विरोध प्रदर्शनमा उत्रिए ।
उत्तर प्रदेशको अयोध्यामा मृतकहरूको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको थियो। दिल्लीको प्रसिद्ध खान मार्केटमा पनि व्यापारी सङ्घले श्रद्धाञ्जलिस्वरूप दिप प्रज्वलन कार्यक्रम आयोजना गर्यो ।
यसैगरी, मध्य प्रदेशको भोपालमा भाजपा नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जली सभा आयोजना गरे, जसमा पार्टीका प्रदेश अध्यक्ष तथा सांसद वीडी शर्मा सहभागी थिए ।
उनले आतङ्कवाद विरुद्ध सिङ्गो देश एकजुट भएको बताउँदै आतंककारीहरूलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरे ।
गएको साता पहलगाममा भएको सो आक्रमणमा २५ जना भारतीय र एक जना नेपाली नागरिकको ज्यान गएको थियो, जबकि अन्य धेरै घाइते भएका थिए । यसअघि सन् २०१९ मा पुलवामा आक्रमणमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो ।
प्रतिक्रिया