सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन काठमाण्डु महानगरको पहल

सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन काठमाण्डु महानगरको पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सांस्कृतिक सम्पदाको चोरी, क्षति तथा अवैध ओसारपसार नियन्त्रण गरी हराएका प्राचीन वस्तु फिर्ता ल्याउन नमुना फाउन्डेसनसँग सहकार्य थालेको छ ।

सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा चोरी भएका वस्तुको पुन:प्राप्तिका लागि महानगरपालिकाले फाउन्डेसनसँग समझदारी गरेको हो ।

महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले समुदायको क्षमता विकास र चेतना अभिवृद्धिमार्फत काठमाण्डुको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले सहभागितामूलक कार्यक्रम अघि बढाइएको बताइन् ।

समझदारीअनुसार महानगर क्षेत्रभित्रका सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, जीर्णोद्धार, मर्मतसम्भार, अभिलेखीकरण र सुरक्षा प्रवर्द्धनका काम गरिनेछ । सम्पदा क्षेत्रका मूर्ति, कलाकृति तथा अन्य प्राचीन वस्तुको चोरी र अवैध ओसारपसार रोक्नुका साथै हराएका वस्तुको पहिचान र पुन:प्राप्तिका लागि पहल गरिनेछ ।

कार्यबाहक प्रमुख डंगोलले यसअघि विभिन्न निकायबाट छरिएर भइरहेका सम्पदा संरक्षणका कामलाई एकीकृत गरी महानगरपालिकाको नेतृत्वमा अघि बढाउन समझदारी गरिएको बताइन् । उनले जनप्रतिनिधि, कर्मचारी, सम्पदा क्षेत्रमा कार्यरत जनशक्ति र समुदायलाई सम्पदाको पहिचान तथा संरक्षणप्रति सचेत बनाउने कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समझदारीपछि सहभागितामूलक कार्यक्रम सञ्चालनका लागि संस्थागत तथा कानुनी आधार तयार भएको बताए ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले काठमाण्डुलाई खुला संग्रहालयका रूपमा चिनाउने ऐतिहासिक सम्पदाको पहिचान र संरक्षणमा महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताए । उनले सहरका गल्ली र चोकमा रहेका प्राचीन वस्तुको समेत अभिलेखीकरण आवश्यक रहेको उल्लेख गरे ।

नमुना फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरीले हराएका तथा चोरी भएका सांस्कृतिक वस्तु फिर्ता ल्याउने अभियान सन् २००३ देखि सुरु गरिएको जानकारी दिए । उनका अनुसार पछिल्लो ५ वर्षमा ११८ वटा मूर्ति फिर्ता ल्याइएको छ ।

महानगरपालिकासँगको सहकार्यमा आगामी ५ वर्षभित्र १ हजार प्राचीन वस्तु फिर्ता ल्याउने लक्ष्य राखिएको उनले बताए ।