काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलेका ३ चर्चित विदेशी क्रिकेटरले सगरमाथा आधार शिविरको भ्रमण गरेका छन् ।
कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुर्याएको हो ।
आधार शिविर भ्रमणपछि मिलरले सगरमाथा क्षेत्रको अनुभव निकै रमाइलो र अविस्मरणीय रहेको बताएका छन् ।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्वस्तरीय खेलाडीलाई एनपीएलमा अनुबन्ध गरिएको बताए ।
त्यही योजनाअनुसार टोलीमा आबद्ध विदेशी खेलाडीलाई सगरमाथा आधार शिविरको अवलोकन गराइएको उनको भनाइ छ ।
‘नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भनेर नै हामीले डेविड मिलरजस्ता विश्व चर्चित खेलाडीलाई एनपीएलमा ल्याएका हौं । सोहीअनुसार टोलीमा आबद्ध खेलाडीलाई हामीले आधार शिविरको अवलोकन गराएका छौं,’ घिमिरेले भने ।


प्रतिक्रिया